काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
उनले दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकलाई सम्बोधन गर्ने कार्यसूची तय भएको हो । सोमबार बसेको प्रमुख सचेतकहरूको बैठकले प्रचण्डले बोल्नेबारे समय निर्धारण गरेको हो ।
यसअघि हिजो सोमबार सिंहदरबारमा बसेको समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानीमा जनताको समस्यामा सरकारको अझै ध्यान केन्द्रित हुन नसकेको कारण जनतामा निकै ठूलो निराशा बढेको बताएका थिए । उनले सरकार सेटिङमा आफ्ना मान्छे भर्ती गर्ने र नियुक्ति गर्नेतिर मात्रै केन्द्रित हुँदा प्रतिक्रियावादी शक्तिहरुले मौका पाएको आरोप लगाउँदै यसको जिम्मेवारी सरकारले लिनुपर्ने धारणा राखेका थिए ।













