डोटी । डोटीको जोरायल गाउँपालिका–१ गैरा बजार नजिकै ट्रयाक्टर दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।
बुधबार बिहान करिब ८ः४५ बजे गैरा बजारबाट मेलखर्कतर्फ जाँदै गरेको सुपप्र ०१-००२ त ४९१० नम्बरको ट्रयाक्टर भीमदत्त राजमार्गअन्तर्गत गैरा क्षेत्रमा अनियन्त्रित भइ सडकबाट खसेर दुर्घटना भएको हो।
ट्रयाक्टरमा कामदार बोकेर जाने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। दुर्घटनापछि प्रहरी सहायक निरीक्षक लोकेन्द्र सिंह ठगुन्नाको कमाण्डमा ट्राफिक प्रहरीसहित चार जनाको टोली घटनास्थलमा खटिएर घाइतेहरूको उद्धार गरेको थियो ।
घाइतेहरूलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते हुनेमा जोरायल गाउँपालिका११ चपरचानीका ३३ वर्षीय अमर सिजाली मगर, सोही ठाउँका ४६ वर्षीय डम्बर थापा, १८ वर्षीय भरत थापा मगर, १८ वर्षीय बिवस थापा मगर, गोगनपानीका ५२ वर्षीय जितबहादुर विक, भानाकोटका ३२ वर्षीय रुपलाल विक र ३ वर्षीय करिश्मा विक रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि ट्रयाक्टर चालक डडेल्धुराको भागेश्वर गाउँपालिका-५ का २३ वर्षीय प्रकाशबहादुर थापा मगर फरार रहेको प्रहरीले जनाएको छ। उनको खोजी कार्य भइरहेको छ।














