धनगढी–कैलालीमा छुट्टाछुट्टै ठाउँमा दुई जना मृत फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १२ को शान्तिनगर र धनगढी उपमहानगरपालिका–१ मा गरि दुई जना मृत भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डीएसपी) वेदप्रकाश जोशीले गोदावरी–१२ को शान्तिनगरमा २५ वर्षीय मदन बडेला मृत भेटिएको जानकारी दिए । बडेला बुधबार बिहान आफ्नै घरको आगनमा शंकास्पद अवस्थामा मृत भेटिएको उनले बताए ।
बडेलाको टाउको र खुट्टामा चोट लागेकाले हत्या आशंकामा अनुसन्धान अघि बढाइएको जोशीले बताए । उनकाअनुसार अनुसन्धानमा तालिम प्राप्त कुकुरको समेत प्रयोग गरिएको छ । अहिले मृतकको शव परीक्षणका लागि घटनास्थलबाट अस्पतालतर्फ ल्याइरहेको प्रहरीले जनाएको छ ।
धनगढी उपमहानगरपालिका–१ को कैलाली कारागार कैलाली पछाडि कञ्चनपुरको कृष्णनगरपालिका ८ का ७४ वर्षीय धनसिंह जेठारा मृत भेटिएका हुन् ।
जोशीकाअनुसार छोरीको घर आएका उनी मंगलबार साँझ बाहिर निस्किएका थिए । अबेरसम्म नफर्किएपछि खोजी गर्दै जादा बुधबार बिहान मृत भेटिएको जोशीले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













