धनगढी । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बजेट निर्माणसँगै बजेट विनियोजन र कार्यान्वयनलाई प्रभावकारी रुपमा सञ्चालन गर्नसके मात्र दिगो विकास सम्भव हुने बताएका छन् ।
बिहिबार राष्ट्रिय योजना आयोगले धनगढीमा आयोजना गरेको सोहौं योजनाको कार्यान्वयन, समपूरक तथा विशेष अनुदान र बहुक्षेत्रिय पोषण योजना लगायतका विषयमा प्रदेश र स्थानीय तह लक्षित दुई दिने अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री शाहले समग्र सुदूरपश्चिम प्रदेशलाई समृद्ध बनाउने खालका योजना बनाउन संघ सरकारसँग कुरा भएको बताए । उनले सुदूरपश्चिममा जलविद्युतको सम्भावना रहेकोले संघ सरकारले उक्त योजना अगाडि बढाएमा पूर्ण लगानीको वातावरण प्रदेश सरकारले मिलाउने बताए । स्थानीय सरकार र प्रदेश सरकारले एक अर्काको अस्तित्व स्वीकार्ने गरि तीनै तहका सरकारबीचको सहकारिता, सहभागिता र सहअस्तित्वलाई आत्मसाथ गरी शासकीय प्रक्रियामा जानुपर्ने बताए ।














