धनगढी । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले लोकतान्त्रिक गणतन्त्रविरुद्ध सडकमा आउनेहरुको प्रतिकार गर्न एमाले सक्षम भन्ने पुष्टि गर्ने उद्देश्यले मोटरसाइकल रयालीको आयोजना गरिएको बताएका छन् । उनले गणतन्त्र विरोधीले शनिबार गरेको हिंसात्मक आन्दोलमा संलग्न दोषीलाई सरकारले संविधान बमोजिम कारवाही गर्ने बताए ।
उनले चैत २९ गते धनगढीमा गणतन्त्रका पक्षमा एमाले विशेष सभा गर्ने भएकाले त्यसका लागि जागरण प्रतिगामीलाई चेतावनी दिन पनि प्रदर्शन गरिएको बताए ।
एमाले कैलालीका इन्चार्ज नारदमुनी रानाले पूर्व राजाका नाममा संघीय लोकतान्त्रिक गणतन्त्र र व्यवस्थाका विरुद्ध धावा बोल्ने कथित राजावादीको हिंसात्मक आन्दोलन विरुद्ध एमालेले प्रर्दशन गरेको बताए । उनले मसान घाटमा पुगिसकेको राजतन्त्र फर्किने सपना नदेख्ने समेत चेतावनी दिए । एमाले कैलाली अध्यक्ष यज्ञराज ढुंंगानाले पूर्व राजा ज्ञानेन्द्र शाह समर्थकले काठमाडौँ मच्चाएको वितण्डा र कानुन विपरीत गरेको हिंसात्मक आन्दोलनविरुद्ध मोटरसाइकल ¥याली निकालिएको बताए ।
पार्टीको जिल्ला कमिटीको आयोजनामा गणतन्त्रको पक्ष र राजतन्त्रवादीविरुद्ध खबरदारी भन्दै एमालेले सोमबार गोदावरी नगरपालिकाको अत्तरियादेखि धनगढी सम्म मोटरसाइकल रयाली निकालेको हो ।
रयालीमा संघीय लोकतान्त्रिक गणतन्त्रको पक्ष र राजतन्त्रवादीहको विपक्षमा नाराबाजी गरिएको छ भने राजावादीले गरेको हिंसात्मक आन्दोलनमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन माग गरिएको छ ।
अत्तरियादेखि सुरु भएको मोटरसाइकल ¥यालीअत्तरिया–धनगढी ६ लेनबाट शहीद गेट–क्याम्पस चोक–पार्क मोड हुँदै ट्राफिक चौराहमा पुगेर समापन भएको थियो ।













