रसुवा । रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा भोटेकोशी-त्रिशूली बाढीबाट प्रभावित तथा जोखिममा रहेका महिला तथा परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।
स्टार्ट फन्ड एन-३० अन्तर्गत सञ्चालित एकीकृत मानवीय तथा प्रारम्भिक पुनःप्राप्ति कार्यक्रममार्फत आइतबार र सोमबार प्रभावित समुदायका ६० घरधुरीलाई राहत सामग्री वितरण गरिएको हो ।
बाढीका कारण दैनिक जीवन प्रभावित भएका तथा विशेष जोखिममा रहेका एकल महिलासहितका परिवारलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले राहत सामग्री प्रदान गरिएको हो ।
राहत वितरणका क्रममा प्रभावित परिवार तथा एकल महिलासँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको वर्तमान अवस्था, तत्कालीन आवश्यकता तथा समस्याबारे जानकारीसमेत लिइएको थियो । पहिलो चरणमा प्रभावित परिवारलाई राहत तथा जाडोयामका लागि आवश्यक सामग्रीका साथै खानेपानी र सरसफाइसम्बन्धी सामग्री वितरण गरिएको आयोजकले जनाएको छ ।
रोयम नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपानेका अनुसार आगामी हप्तामा उत्तरगया गाउँपालिका–१ र ५ मा समेत प्रभावित समुदायको आवश्यकता अवलोकन गरी सोही आधारमा राहत सामग्री वितरण गरिनेछ ।
यसैबीच, यूएन वुमनको आर्थिक सहयोग तथा रोयम नेपालको सहजीकरणमा रसुवा र नुवाकोटको विदुरमा गरी तीन स्थानमा विगत एक महिनादेखि सामुदायिक भान्सा सञ्चालन भइरहेको छ ।
सामुदायिक भान्सामार्फत बाढी प्रभावित तथा विस्थापित परिवारलाई बिहानको चिया-नास्ता, खाना, दिउँसोको खाजा तथा साँझको खाना नियमित रूपमा उपलब्ध गराइँदै आएको छ ।
वडाको समन्वयमा सञ्चालन भइरहेको सामुदायिक भान्सामा विपद्बाट प्रभावित परिवारका सदस्यलाई रोजगारी तथा कामको अवसरसमेत प्रदान गरिएको छ । यसबाट प्रभावित परिवारले कठिन परिस्थितिमा तत्काल आयआर्जनको अवसर पाउनुका साथै दैनिक जीवनयापनमा सहयोग पुगेको जनाइएको छ । सामुदायिक भान्सामा स्थानीय तथा प्रभावित महिलाको सहभागितालाई प्राथमिकता दिइएको छ ।
उत्तरगया गाउँपालिका-२ डाँडागाउँका वडा अध्यक्ष टुकु सुवेदीले विपद्का समयमा उपलब्ध गराइएको राहत तथा सहयोगले प्रभावित समुदायको दैनिक जीवन सहज बनाउन महत्वपूर्ण सहयोग पुगेको बताए । उनले सहयोगका लागि धन्यवाद व्यक्त गर्दै प्रभावित समुदायको आवश्यकता र अवस्थाका आधारमा आगामी दिनमा पनि सहयोग तथा सहजीकरणलाई निरन्तरता दिन आग्रह गरे ।
वडा अध्यक्ष सुवेदीले विशेषगरी विद्यालयमा खानेपानीको सहज व्यवस्थाका लागि आवश्यक सहजीकरण गरिदिन आग्रह गरे । श्री डाँडागाउँ माध्यमिक विद्यालयका प्रधानाध्यापक नवराज घिमिरेले सामुदायिक भान्सा सञ्चालन तथा राहत सहयोगबाट विद्यालयको छात्रावासमा बस्दै आएका विद्यार्थीलाई कठिन समयमा ठूलो सहयोग पुगेको बताए ।
समुदायको आवश्यकता र मागलाई सम्बोधन गर्दै विद्यालयमा खानेपानीको व्यवस्थाका लागि आवश्यक समन्वय तथा सहजीकरण गरिने रोयम नेपालका अपरेसन प्रमुख अनुप खनालले बताए । उनका अनुसार तत्काल राहत उपलब्ध गराउनुका साथै प्रभावित समुदायलाई पुनःस्थापना तथा प्रारम्भिक पुनःप्राप्तिको प्रक्रियामा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रमका अन्य गतिविधिसमेत निरन्तर सञ्चालन भइरहेका छन् ।
“सँगै मिलेर अझ बलियो पुनर्निर्माण” भन्ने मूल भावनाका साथ प्रभावित समुदायलाई राहतदेखि पुनःप्राप्तिसम्मको यात्रामा आवश्यक सहकार्य र सहयोगलाई निरन्तरता दिइने उनले बताए ।
कार्यक्रम रेन (रेजिलियन्स, एडप्टेसन एन्ड इन्क्लुजन इन नेपाल) कार्यक्रमअन्तर्गत यूके इन्टरनेसनल डेभलपमेन्ट (एफसीडीओ) मार्फत स्टार्ट फन्ड एन-नेपालको सहयोगमा सञ्चालन भइरहेको छ । आसमान नेपालको नेतृत्वमा रोयम नेपाल, एलएसीसीओएस र वेल्थहङ्गरहिल्फे (डब्ल्यूएचएच) को सहकार्य तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) को निर्देशनमा कार्यक्रम कार्यान्वयन भइरहेको जनाइएको छ ।
रोयम नेपालले रसुवाको उत्तरगया गाउँपालिकाका वडा नं. १, २ र ५ तथा नुवाकोटको विदुर नगरपालिका-१ मा कार्यक्रमका विभिन्न गतिविधि सञ्चालन गरिरहेको छ । कार्यक्रमअन्तर्गत बाढी प्रभावित समुदायलाई राहत तथा जाडोयामका लागि आवश्यक सामग्री उपलब्ध गराउनुका साथै खानेपानी तथा सरसफाइ, स्वास्थ्य, शिक्षा, बाल संरक्षण, मनोसामाजिक सहयोग, पोषण तथा जीविकोपार्जन पुनःस्थापनालगायतका गतिविधि सञ्चालन भइरहेका छन् ।















