काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गर्नका लागि आवेदन आह्वान गरेको छ ।
अभौतिक सांस्कृतिक सम्पदा ९सूचीकरण तथा व्यवस्थापन० कार्यविधि, २०८१ को दफा ९ बमोजिम सूचीकरण गर्न चाहने व्यक्ति, समुदाय वा संस्थाले सात प्रकारका कागजात तथा प्रमाण संलग्न गरी संस्कृति महाशाखामा आवेदन दिन आह्वान गरिएको मन्त्रालयका पुरातत्व अधिकृत भीष्म बाँस्कोटाले राससलाई जानकारी दिए । सम्पदा सूचीकरणका लागि वैशाख मसान्तभित्र आवेदन पेस गरिसक्नुपर्ने उनले सुनाए ।
आवेदनसाथ कार्यविधिको अनुसूची १ बमोजिमको ढाँचामा आवेदनका साथ सम्पदाको पूर्ण विवरण, सूचीकरणका लागि सम्बन्धित व्यक्ति, समूह वा समुदायको सहमति, सम्पदाको तस्बिर, श्रव्य तथा दृश्य, हालसम्मको पुस्तान्तरणसम्बन्धी आवश्यक विवरण, सम्बन्धित स्थानीय तहको सिफारिस, स्थानीय तहमा सूचीकरण भएको भए सोको प्रमाणलगायतका सामग्री संलग्न गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।
कार्यविधि मन्त्रालयको वेबसाइटमा राखिएकाले त्यहीँबाट हेर्न सकिने पुरातत्व अधिकृत बाँस्कोटाले बताए ।रासस













