कमल सावद
धनगढी । धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको सीप तथा रोजगार मेलाबाट सिप सिकेर गएका एक सय चार जनाले रोजगारी पाएका छन्। फागुन ८ गतेदेखि चैत १५ गतेसम्म सञ्चालनमा रहेको मेलाबाट एक सय चार जनाले रोजगारी पाएका हुन्।
उनीहरूलाई छनौट गर्नका लागि रोजगार दताहरु मेला सञ्चालन भएको ठाउँमा नै पुगेका थिए। सीप तथा रोजगार मेलाको अन्तिम २ दिन रोजगार दताहरूलाई बोलाइएको थियो। रोजगार दताहरूको आवश्यकताका आधारमा उनीहरूले जनशक्ति छनौट गरेका हुन। मेला समापन भएको समयमा एक सय चार जना छनौटमा परेको धनगढी उपमहानगरपालिकाले जनाएको छ।
धनगढीको खुलामञ्चमा दक्ष जनशक्ति उत्पादन गरी रोजगार तथा स्वरोजगार बनाउने उद्देश्यले युवाहरूलाई लक्षित गरेर सीप तथा रोजगार मेलाको आयोजना गरेको थियो। रोजगारीको पूर्ण सुनिश्चित नगरेका रोजगारताहरूले उनीहरूको प्रयोगात्मक क्षमता हेर्नका लागि समेत छनौट गरेका हुन्। एक सय चार जनाले पूर्ण रूपमा रोजगारी पाएका भएपनि प्रयोगात्मक अभ्यास गर्दै आएका युवाहरूको सङ्ख्या धेरै रहेको धनगढी उपमहानगरपालिकाले बताएको छ।
वैशाख दोस्रो सातासम्म उनीहरू लगायत अन्य युवाहरूको रोजगारीको अवस्थाका बारेमा पूर्ण विवरण आउने धनगढी उपमहानगरपालिकाका रोजगार संयोजक चन्द्र महराले बताएका छन्। उनले भने, ‘एक सय चार जना रोजगार भएका छन्। केही युवाहरू ओजेटीमा पनि छन्। उनीहरूको रोजगारी पक्का भएको छैन। वैशाख महिनामा मात्र उनीहरू रोजगार भए÷नभएको भन्न सकिन्छ। नयाँ वर्षमा रोजगार दताहरूले नयाँ विज्ञापन गर्ने समय पनि हो। हामीले चैत आधामा कार्यक्रम सकेका थियौ।’
तालिमपश्चात् ४० जना युवा स्वरोजगार
धनगढी उपमहानगरपालिकाले दिएको तालिमपश्चात् ४० जना युवा स्वरोजगार बनेका छन्। तालिममा सहभागी भएका मध्य हालसम्म ४० जनाले व्यवसाय सुरुवात गरेका धनगढी उपमहानगरपालिकाको तथ्याङ्क छ। उनीहरूले खाजा–नास्ता पसल तथा बेतबाँस लगायतको काम थालेका हुन।
धनगढी लगायतको बजारमा प्लम्बिङ जनशक्तिको माग उच्च रहेकोले प्लम्बिङको तालिम लिएकाहरू पनि रोजगार भएका छन्। धनगढी उपमहानगरपालिकाले दिएको निःशुल्क तालिमको समापन समयमा चार सय ८० युवाले आफै व्यापार गर्ने बताएका थिए। उनीहरूमा ४० जना हालसम्म स्वरोजगार भएको महराले बताए ।
श्रम बजारको मागलाई अध्ययन गरेर युवालाई विभिन्न तालिम प्रदान गरिएको थियो। विभिन्न विधाका तालिममा एक हजार बढी युवाहरू मेलामा सहभागी रहेका थिए। धनगढी उपमहानगरपालिकाले श्रम बजार सर्वेक्षणलाई पनि अध्ययन गरिएको दाबी गरेको थियो। बजारमा अनौपचारिक क्षेत्र र निर्माण क्षेत्रका लागि दक्ष जनशक्तिको उच्च माग रहेको छ। सीप सिकेका युवाहरूले सहजै रोजगारी पाउने महराले बताए।
विभिन्न आठ विधामा २९ प्रकारका तालिम सुदूरपश्चिमका नौ जिल्लाका एक हजार ४० जना युवालाई सीप तालिम प्रदान गर्न छनौट गरेको थियो। पाँच सय ७० जना पुरुष र चार सय ७० जना महिला रहेका थिए। उनीहरू सुदूरपश्चिमका ३९ स्थानीय तहबाट धनगढी आएका हुन्। तालिमको क्रममा केहीले छोडेका छन्। उनीहरूलाई एक महिना सीप तालिम, पाँच दिन उद्यमशीलता तथा करिअर परामर्श तालिम दिइएको छ। अन्तिम दुई दिन रोजगार मेला सञ्चालन गरिएको थियो।
सीप तथा रोजगार मेलामा मोबाइल तथा सीसीटीभी मर्मत, बिल्डिङ इलेक्ट्रिकल, एसी तथा रेफ्रिजेरेटर मर्मत, अटो क्याड, हार्डवेयर नेटवर्किङ, ग्राफिक्स डिजाइनिङ, डिजिटल मार्केटिङ, पुरोहित तालिम, इसीडी वालविकास शिक्षक, फेसन डिजाइन, एडभान्स टेलरिङ, हेयर कटिङ तथा स्टाइलिङ, नाई ९बार्बर०, एडभान्स ब्युटिसियन, प्लम्बिङ, वेल्डिङ र इलेक्ट्रिक भेहिकल (ईभी) मर्मत तथा लेखा व्यवस्थापन तालिम सञ्चालन गरिएको छ।
यस्तै सांस्कृतिक पोसाक निर्माण, बेतबाँस क्राफ्ट, टायल तथा मार्बल फिक्स्चर, डकर्मी, मोटरसाइकल तथा स्कुटर मर्मत, रिसेप्सनिष्ट, वेटर, कफी बारिस्टा, हाउस पेन्टिङ र फर्निचर तथा फास्टफुड कुकिङ तालिम सञ्चालन गरिएको थियो।













