धनगढी । बझाङ कारागारबाट भागेका एक कैदी भीरबाट हाम फालेर गम्भीर घाइते भएका छन्। घाइते हुनेमा जाजरकोटको भेरी नगरपालिका–४ का २८ वर्षीय रोहित सुनार रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
सुनारलाई बझाङको बित्थडचिर गाउँपालिका क्षेत्रबाट पक्राउ गर्ने प्रयासका क्रममा उनले झन्डै ३ सय मिटर अग्लो भीरबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी खगेन्द्रप्रसाद धमलाले जानकारी दिए । यस क्रममा उनको ढाड र घाँटीमा गम्भीर चोट लागेको छ।
हाल सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत सुनारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनी कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सजाय भोगिरहेका थिए।
सुनारसँगै भागेका कर्तव्य ज्यानसम्बन्धी मुद्दाकै अर्का कैदी चन्द्रबहादुर पुनलाई भने प्रहरीले पक्राउ गरेको जनाइएको छ ।















