कैलाली । सुदूरपश्चिम प्रदेशमा दसैँ तिहार लक्षित योजना अनुसार सुपथ मूल्य पसल संचालनमा ल्याएको छ । आज खाद्य व्यवस्था तथा व्यापार लिमिटेड धनगढी र साल्टट्रेडिङ कपेरेशन लिमिटेड प्रदेश कार्यालय धनगढीले सो पसलहरु संचालनमा ल्याएको हो ।
यी पसलहरु संचालमा आएपछि बजार मूल्यभन्दा केही सस्तोमा बिक्री वितरण भइरहेको छ । खाद्य व्यवस्था तथा व्यापार लिमिटेड धनगढीले अरुवा मोटा चामलको बजार मूल्य प्रतिकिलो रु ६२ रहेको मा ५ रुपैयाँ छुट गरी ५७ रुपैयाँमा बिक्री वितरण गर्ने गरेको जिन्सी अधिकृत सन्तोष विकले निशाना न्युजलाई जानकारी दिए ।
स्टिम जिरा मसिनो चामल बजार मूल्य प्रतिकिलो ८८ छ भने ५ रुपैयाँ छुट भइ ८३ रुपैयाँमा बिक्री हुने गरेको उनले बताए । चिनी १०० रुपैया पर्छ सुपथमूल्यमा ९५ रुपैयाँमा बिक्री हुने गरेको छ । त्यस्तै कस्ति बोरा २५ केजीलाई एक हजार ४२५ र २५ केजीकै दुई हजार ७५ मा बिक्री भइरहेको उनको भनाइ छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सुदूरपश्चिमका २८ स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको उनले बताए । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुदूरपश्चिमका कैलालीको धनगढी, डडेलधुराको खलङ्गा बजार, कञ्चनपुरको शाखा कार्यालय महेन्द्रनगर, डोटीको खलङ्गा बजार र मौवानगर खरिद–बिक्री केन्द्रमा सुपथ मूल्य पसल संचालन ल्याएको छ । बाजुराको शाखा कार्यालय मार्तडी, डिपो कार्यालय कोल्टी, धुलाचौर बिक्री केन्द्र, बिच्छाया बिक्री केन्द्र र पाण्डुसैन बिक्री केन्द्र रहेको छ ।
बैतडीको गोठालापानी र परचौडीहाट बिक्री केन्द्र, रोलेश्वर, आम्चौरा र दोगडाकेदार खरिद–बिक्री केन्द्रबाट संचालन गरेको छ । दार्चुलाको शाखा कार्यालय, सुनकेसरा बिक्री केन्द्र, हिकिला र खण्डेश्वरी खरिद बिक्री केन्द्रबाट सुपथ मूल्य पसल सञ्चालन छ। अछामको शाखा कार्यालय मङ्गलसेन, सैनाबजार, साफेबगर र कमल बजार खरिद–बिक्री केन्द्रबाट सञ्चालन रहेको छ ।
साल्ट ट्रेडिङले सुदूरपश्चिमका आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको निमित्त प्रमुख तेज बहादुर कुँवरले निशाना न्युजलाई जानकारी दिए ।
सेवाग्राहीले नजिकको सुपथ मूल्य पसलबाट सेवा लिन सक्ने उनले बताए । उनले साल्ट ट्रेडिङबाट सञ्चालन हुने सुपथ मूल्य पसलमा नुनमा प्रतिकिलो दुई, चिनीमा प्रतिकिलो पाँच, तेल चिउरा, पीठो मैदा र दालमा प्रतिकिलो सात रुपैया छुट दिएर बिक्री बितरण भइरहेको बताए । डडेल्धुरा, कैलालीको धनगढी, टीकापुर र अत्तरिया, कञ्चनपुरको बेलौरी र महेन्द्रनगर, डोटीको दिपायल, बैतडीको पाटनबाट सुपथ मूल्य पसल सञ्चालन भएको उनको भनाई छ ।













