धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीले जेनजी आन्दोलनका क्रममा भौतिक संरचनामाथि क्षति हुनु राम्रो नभएको बताएका छन् ।
प्रदेशसभा परिसरमा आज सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सभामुख भण्डारीले यस्तो बताएका हुन् ।
उनले भने ‘जेनजी प्रदर्शनको क्रममा जुन भौतिक संरचनामाथि क्षति भएको छ । जे नहुनु पर्ने थियो । त्यो भइहाल्यो अब समालिनु पर्छ ।’
उनले उनले भने ‘बिगतदेखि विकासका दृष्टीले केन्द्रीय राज्यसत्ताबाट यो क्षेत्र धेरै पछाडि पारिएको क्षेत्र हो । आज दिनमा जुन भौतिक संरचना ध्वस्त पारिएको छ । अन्य प्रदेशभन्दा यहाँ बढी क्षति भएको छ । कतै हामी सुदूरपश्चिमबासीको नबने नबनाउने होकी भन्ने मलाई लागेको छ ।’
उनले कुनै नेतृत्वको कमी कमजोरी,राजनीतिक हिसाबले भएका केही समस्याका कारण भौतिक संरचनामा क्षति पु¥याउनु राम्रो नभएको बताए ।
उनले भने ‘हामी नरहन पनि सक्छौँ । पाँच वर्षका लागि चुनिएर आएका हौँ । भोलि यो व्यवस्था रही रहे भने भोलि आउने मान्छेलाई त चाहिन्छ होला ।’
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज सुदूरपश्चिम प्रदेशसभाको अनुगमन गरेका थिए । जेनजी आन्दोलनका क्रममा यहाँका अधिकांश सरकारी कार्यालयमा क्षति पुगेको छ ।















