धनगढी । प्रदेश कार्यालयबाट छिटोभन्दा छिटो सेवा प्रवाह गर्न सुदूरपश्चिम प्रदेश सरकार लागेको छ ।
भाद्र २३ र २४ गते जेनजीको प्रदर्शनका क्रममा प्रदेश कार्यालयका भौतिक संरचनाहरु ध्वस्त भएपछि कार्यालयबाट हुने सेवा प्रवाह अवरुद्ध भएको छ ।
प्रदेश कार्यालयबाट प्रवाह हुने सेवा अवरुद्ध भएसँगै जनताले झेन्दै आएको सास्तीलाई मध्यनजर गर्दै प्रदेश सरकार सेवा सुचारू गर्न लागेको हो ।
बिहीबार मुख्यमन्त्री कमलबहादुर शाहले ध्वस्त संरचनाहरूको पुनर्निर्माण तथा कार्यालय सञ्चालन गरी जनतालाई सेवा दिने विषयमा कर्मचारी तथा विकास साझेदारहरूसँग छलफल गरेका छन ।
उनले छिटोभन्दा छिटो कार्यालय सञ्चालन गरी जनतालाई सेवाप्रवाह गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।
जस्तोसुकै विषम परिस्थितिमा पनि जनतालाई सेवा दिनु प्रदेश सरकारको जिम्मेवारी रहेकोमा मुख्यमन्त्री शाहको जोड थियो।
छलफलकै क्रममा मुख्यमन्त्री शाहले विकास साझेदारहरूसँग प्रदेशका कार्यालयहरू सञ्चालन तथा पुननिर्माणका विषयमा छलफल गरेका थिए । यसअघि मुख्यमन्त्री शाहले मङ्गलबार प्रदेशस्थित ध्वस्त २९ वटा कार्यालयहरूको भौतिक संरचनाको निरीक्षण गरेका थिए ।















