धनगढी । कञ्चनपुरबाट लागुऔषध खैरो हेरोइनसहित तीन जना युवती पक्राउ परेकी छन् । शुक्रबार जिल्लाको पुनर्वास नगरपालिका–६ ङ गाउँस्थित भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडा बस्ने १९ वर्षीया संगिता राना, लम्कीचुहा नगरपालिका–९ बस्ने २० वर्षीया रेनुका चौधरी र कञ्चनपुर बेलौरी नगरपालिका– ४ बस्ने १८ बर्षीया किशोरी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट ९०० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो धुलो पदार्थ फेला पारी उक्त पदार्थसहित तीनै जनालाई लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ । यसबारे थप अनुसन्धान भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।













