धनगढी । धनगढीस्थित हिमशिखर बहुउद्देशीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रोशन सिंहले सहकारीको समग्र विकाससँगै शेयर सदस्यको सेवामा लागिरहने बताएका छन् ।
निशाना न्युजसँगको कुराकानीमा बोल्दै उनले शेयर सदस्यको सेवा गर्ने कुरामा आफ्नो ध्यान अगाडि बढेको बताए ।
उनले भने ‘सहकारीप्रति अविश्वास बढिरहेको बेला म अध्यक्ष भएको छु । मलाई विश्वास छ अविश्वास समय परिस्थितिले जगाएको हो। विश्वास हामीले कर्तव्य निभाएर गराउने हो।’
उनले भने ‘मेरो आत्मविश्वास के छ भने संस्थामा भएका गतिविधिहरुलाई पारदर्शी ढंगले सम्पूर्ण शेयर सदस्यमा राखिदिएमा पनि उहाँहरुमा विश्वास हुने आधार धेरै छन्।’
उनले बहुउद्देश्यीय संस्था भनेर आर्थिक कारोबार मात्रै गर्ने नभएर कृषि,शिक्षा लगायतका क्षेत्रमा काम गर्ने बारे सोचेको बताए ।
उनले भने ‘काम गर्ने सवालमा मैले संस्थाका महाप्रबन्धक प्रबन्धक ज्यूहरुसँग सुझाव लिइरहेको छु । न्यूनतम ब्याजमा कृषिमा कसरी लगानी गर्ने? किसानलाई कसरी सहयोग गर्ने भन्ने बारेमा हामीले योजना बनाएर काम गर्छौं ।’
मल पनि सरकारले सहकारीलाई दिने गरेको बताउँदै उनले समय समयमा हुने मलको अभावको बेला किसानलाई मल पुर्याउँदा सहकारीप्रति विश्वास हुने बताए ।
अन्य व्यापारीभन्दा सहकारीबाट मल लिँदा किसानलाई पनि सस्तोमा मिल्ने उनको भनाइ छ ।
उनले भने ‘हामीले कृषि मेसिनरी सामानहरूका बारेमा पनि बारेमा सोचेका छौं । सम्भव भएमा निकट भविष्यमै हामीले हसुलियामा बीउ केन्द्र राख्ने सोच बनाएका छौँ ।’
समग्ररूपमा सहकारीका करिब ६ हजार शेयर सदस्यलाई कसरी सेवा गर्ने भन्ने कुरामा अगाडि बढेको उनले बताए ।



















