धनगढी । सुदूरपश्चिममा एक महिनामै १४२ जना नागरिक हराएका छन् भने तीमध्ये ९३ जना भेटिएका छन् । गत चैत महिनामा प्रदेशभरी सबै भन्दाबढी महिला तथा बालबालिका हराएका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर बिष्टका अनुसार चैत महिनामा सबैभन्दा बढी ७२ जना महिला हराएका छन् ती मध्ये ४४ जना फेला परेका छन् ।
त्यस्तै,सो अवधिमा ४४ जना बालिका हराएकामा २९ जना फेला फरेका,१४ जना बालक हराएकामा ११ जना फेला परेका तथा १२ जना जेष्ठ नागरिक हराएकामा ९ जना फेला परेका उनले जानकारी दिए ।
सो अवधिमा महिला,बालबालिका तथा जेष्ठ नागरिकतर्फ विभिन्न घटनाका ३१ उजुरी दर्ता भएको उनले जानकारी दिए । ती घटनाबबाट सून्यदेखि १४ वर्षसम्मका १० जना,१५ देखि १८ वर्षसम्मका ३ जना,१९ देखि २५ वर्षसम्मका ५ जना,२६ देखि ४५ वर्षसम्मका १२ जना र ४६ देखि ५९ वर्षसम्मका एक जना पीडित भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै,जघन्य तथा गम्भीर अपराधतर्फ कर्तव्य ज्यानका ४ तथा हातहतियारका २,आर्थिक अपराधका घटनातर्फ बैंकिङ कसुरका ५१,जुवातासका ८ तथा ठगीका २३ र महिला,बालिका तथा जेष्ठनागरिकसम्बन्धी २९ वटा मुद्धा दर्ता भएको प्रहरीले जनाएको छ ।
त्यस्तै,सो एक महिनामा घरेलु हिंसातर्फ ९२ वटा उजुरी परेकामा ६८ वटा मिलापत्र भएको,१५ वटा अदालत पठाइएको तथा ९ वटा प्रकृयामा रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै,ठाडो उजुरीतर्फ प्रत्यक्ष रुपमा प्रहरी कार्यालयमा परेका उजुरीको संख्या ३६१ रहेकामा ३०५ फछ्र्यौट भएका र ५६ वटा फछ्र्यौट हुन बाँकी रहेको जनाइएको छ । त्यस्तै,एक नाल भरुवा बन्दुक तथा एसएलआरको गोली ८ राउण्ड बरामद गरिएको जनाएको छ ।



















