काठमाडौँ- नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा कैलाली–४ ‘क’ का उम्मेदवार दीर्घबहादुर सोडारीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।आयोगले शुक्रबार उनलाई आचारसंहिता उल्लंघन गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको हो।
‘तपाईंले आफ्नो निर्वाचन क्षेत्रमा गत बिहीवार आयोजित कार्यक्रममा निर्वाचन आयोग नेपाल र यसका पदाधिकारीहरु उपर लाञ्छनापूर्ण अभिव्यक्ति दिनुभएको सूचना र सोलाई पुष्टि गर्ने सामग्री आयोगमा प्राप्त भइसकेको सन्दर्भमा तपाईंले उक्त अभिव्यक्ति दिनु भएको होइन भन्ने आधार र प्रमाण के छरु,’ आयोगले सोडारीलाई सोधेको छ।
सोडारीले पनि प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर सहभागी उक्त कार्यक्रममा उनको जस्तै अभिव्यक्ति दिएका थिए।
यस्तै त्यही कार्यक्रममा सहभागी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्षिराम आचार्यलाई पनि स्पष्टीकरण सोधेको छ। कार्यक्रम सम्बोधनका क्रममा उनले पनि निर्वाचन आयोगका गतिविधिप्रति शंका उत्पन्न भएको बताएका थिए।
जनताको ठूलो बलिदानीबाट प्राप्त लोकतन्त्रको सुन्दर पक्षलाई अंकुश लगाउँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको इशारामा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जनप्रतिनिधिलाई भागाभागको अवस्थामा पुर्याएको अभिज्यक्ति दिएका थिए।
‘हिजो यिनै झण्डामुनि रहेर चुनाव जितेका जनप्रतिनिधिहरुले आज आफ्नै नेताहरुका लागि भोट माग्नसम्म डराउनुपर्ने स्थिति सिर्जना भएको छ,’ आचार्यले भनेका थिए, ‘प्रतिगमनका मतियार केपी ओलीको इशारामा निर्वाचन आयोगको यस्तै गतिविधि भइरहेको छ, त्यसविरुद्धमा जनताले चुनावी मैदानबाटै तह लगाउनु नपरोस्।’ आयोगले सोडारी र आचार्यलाई पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा प्रदेश निर्वाचन कार्यालय कैलालीमा स्पष्टीकरण पेश गर्न भनेको छ।













