काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले देशमा व्याप्त बेथिति, भ्रष्टाचार र दण्डहीनताको अन्त्यका लागि अपराधीहरूलाई सार्वजनिक रूपमा कोर्रा हान्ने कानुन बनाउन प्रस्ताव गरेका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद राईले विद्यमान कानुनी प्रक्रिया झन्झटिलो र सेटिङमा चल्ने गरेको भन्दै कडा सजायको व्यवस्था गर्न माग गरेका हुन् ।
सांसद राईले संसद्मा बोल्दै अपराधीहरूलाई समात्ने, छानबिन गर्ने र फेरि सेटिङमा छाड्ने प्रवृत्तिले देश बर्बाद भएको बताए। ‘मेरो–तेरो नभनीकन फटाहालाई कर्यापझ्याप पारेर हानौँ न कोर्राले । त्यस्तो कानुन बनाऔँ, यही हो कानुन बनाउने ठाउँ,’ राईले भने । राईले मायाले छानबिन गरेर र सोधपुछ गरेर अपराधीहरू नसुध्रिने दाबी गर्दै बेथितिको समूल नष्ट गर्न कोर्रा नै अन्तिम विकल्प भएको बताए।
राईले कोर्रा हान्ने कानुन बनाउनुपर्ने भन्दै बोलेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले नियमापत्ति जनाएकी थिइन्। उनले अपराधै गरेका नागरिक भए पनि कोर्रा हान्ने कानुन बनाउन नहुने बताइन् भने संसद्को रेकर्डबाटसमेत उक्त शब्द हटाउन माग गरिन्














