काठमाडौं । नेपाल सरकारले सर्पदंश राेकथाम र नियन्त्रणसम्बन्धी पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ सार्वजनिक गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको कार्ययोजनाले सर्पदंशलाई जनस्वास्थ्य तथा विपद् जोखिमको महत्वपूर्ण विषयका रूपमा पहिचान गर्दै रोकथाम, उपचार र उद्धार प्रणालीलाई प्रभावकारी बनाउने लक्ष्य लिएको छ।
कार्ययोजनाअनुसार पछिल्ला १० वर्ष अर्थात् २०७३ देखि २०८३ असार मसान्तसम्म नेपालमा सर्पदंशका १ हजार ६७८ घटना भएका छन्। ती घटनामा १ हजार ४०१ जना घाइते भएका छन् भने ३०१ जनाको सर्पदंशका कारण मृत्यु भएको तथ्यांकमा उल्लेख छ। मृत्यु हुनेमध्ये ४२ प्रतिशत महिला र करिब २२ प्रतिशत बालबालिका रहेका छन्।
उपचार केन्द्र टाढा हुनु, उपचारमा ढिलाइ, पर्याप्त एन्टिभेनमको उपलब्धता नहुनु, स्वास्थ्यकर्मीको सीमित क्षमता तथा आपत्कालीन उद्धार सेवामा देखिएको कमजोरीका कारण सर्पदंशबाट हुने मृत्यु र अपाङ्गताको जोखिम अझै उच्च रहेको कार्ययोजनाले जनाएको छ।
कार्ययोजनाले मधेस प्रदेशका सर्लाही, सिरहा, धनुषा, महोत्तरी, सप्तरी, रौतहट, बारा र पर्सा, कोशी प्रदेशका झापा, मोरङ र सुनसरी, बागमती प्रदेशको चितवन, गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व), लुम्बिनी प्रदेशका दाङ, कपिलवस्तु, रुपन्देही, बाँके, बर्दिया, पाल्पा तथा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र सुदूरपश्चिमका कञ्चनपुर र कैलालीलाई सर्पदंशको उच्च जोखिम भएका जिल्लाका रूपमा प्राथमिकतामा राखेको छ।
सर्पदंशका कारण मृत्यु, उपचारमा हुने खर्च, श्रमशक्ति गुम्ने, गरिबी बढ्ने तथा राज्यमा अतिरिक्त आर्थिक भार पर्ने कार्ययोजनाले औंल्याएको छ। जलवायु परिवर्तन, वन विनाश, अव्यवस्थित सहरीकरण, कृषियोग्य जमिनको अतिक्रमण तथा जैविक विविधतामा आएको परिवर्तनले मानव र सर्पबीचको सम्पर्क बढाउँदै सर्पदंशको जोखिम बढाएको उल्लेख गरिएको छ।
कार्ययोजनाले समुदायस्तरमा घर तथा परिसरमा सरसफाइ गर्ने, घरभित्र मुसा र सर्प प्रवेश नियन्त्रण गर्ने, अँध्यारोमा टर्चको प्रयोग गर्ने, सुत्दा मच्छरदानी प्रयोग गर्ने तथा जोखिमयुक्त क्षेत्रमा जुत्ता र पञ्जा प्रयोग गर्ने लगायतका उपाय अपनाउन जोड दिएको छ।
त्यस्तै स्वास्थ्य क्षेत्रमा एन्टिभेनमको पर्याप्त व्यवस्था, स्वास्थ्यकर्मीलाई नियमित तालिम, आईसीयू तथा भेन्टिलेटर क्षमता विस्तार, एम्बु ब्याग र इन्ट्राभेनस लाइनको उपलब्धता तथा उपचार प्रोटोकलको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ। सर्पको प्राकृतिक वासस्थान संरक्षण र मानव–सर्प द्वन्द्व न्यूनीकरणका उपायलाई पनि कार्ययोजनामा समेटिएको छ।
सर्पले टोकेमा बिरामीलाई सकेसम्म छिटो नजिकको सर्पदंश उपचार केन्द्र वा अस्पताल पुर्याउन, बिरामीलाई शान्त राख्न र टोकेको अंगलाई स्थिर राख्न कार्ययोजनाले सुझाएको छ। टोकेको स्थानमा काट्ने, चुस्ने, डोरीले कसेर बाँध्ने, जडीबुटी वा अन्य घरेलु उपचार गर्ने तथा मुखबाट विष निकाल्ने प्रयास नगर्न पनि आग्रह गरिएको छ।
सर्प देखिएमा त्यसलाई समात्ने वा मार्ने प्रयास नगरी सुरक्षित दूरी कायम गर्न र सम्भव भएसम्म वन तथा संरक्षणकर्मी, उद्धार टोली वा स्थानीय तहलाई खबर गर्न कार्ययोजनाले सुझाव दिएको छ। यससँगै स्थानीय तहदेखि संघीय तहसम्म समन्वय गरी सर्पदंशबाट हुने मृत्यु तथा सामाजिक–आर्थिक क्षति न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ।















