काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१० स्थित बेत्रावती क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण फसेकी एक महिलाको सशस्त्र प्रहरीले शनिबार जीवितै उद्धार गरेको छ ।
प्रहरीका अनुसार अन्दाजी ६० वर्षीया चण्डिका श्रेष्ठ नदीको तीव्र बहाव र अचानक बढेको जलसतहका कारण बाढीको बीच भागमा फसेकी थिइन् ।
खोज तथा उद्धारको लागि खटिएको टोलीले आनन्द श्रेष्ठको घरबाट घरभित्र महिला कराएको आवाज सुनेपछि उद्धार गर्न सफल भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १९ गुल्म नुवाकोटबाट सशस्त्र प्रहरी निरीक्षक सुमन कुमार विकको कमाण्डमा विशेष उद्धार टोली तत्काल घट्नास्थलतर्फ परिचालन भएको थियो ।














