धनगढी । नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले बढी विद्युत खपत गर्ने उपकरण तथा उद्योग-मिल सञ्चालन नगर्न आग्रह गरेको छ ।
वितरण केन्द्रले सामाजिक सञ्जालमार्फत साँझ ५ बजेदेखि राति ११ बजेसम्म बढी विद्युत खपत गर्ने उपकरण तथा उद्योग-मिल सञ्चालन नगरी लोड व्यवस्थापनमा सहयोग गर्न ग्राहकलाई आग्रह गरेको हो ।
शनिबार पहलमानपुर सवस्टेसनको पावर ट्रान्सफरमरमा समस्या देखिपछि धनगढी वितरण केन्द्र अन्तर्गत चौमाला,मसुरिया,फूलबारी तथा हसुलिया क्षेत्रमा धनगढी,अत्तरिया तथा भजनी क्षेत्रबाट लाइन ट्यापिङ गरि वैकल्पिक व्यवस्थामार्फत विद्युत आपूर्ति गरिएको वितरण केन्द्रले जनाएको छ।
ट्रान्सफर्मरको सीमित क्षमताका कारण साँझको समयमा विद्युतको माग बढ्दा लोड व्यवस्थापनमा समस्या आउन सक्ने प्राधिकरणले जनाएको छ।
फिडरहरू मर्ज गरेर विद्युत आपूर्ति सञ्चालन भइरहेकाले फिडरको लम्बाइ बढ्दा केही क्षेत्रमा भोल्टेजको समस्या समेत आउन सक्ने वितरण केन्द्रले जनाएको छ।
पहलमानपुर सबस्टेसनमा रहेको पावर ट्रान्सफर्मरको मर्मत कार्य सुरु भइसकेको र उक्त समस्या पूर्ण रूपमा समाधान गर्न केही दिन लाग्न सक्ने जनाइएको छ।
विद्युत आपूर्ति व्यवस्थापनमा सहयोग गरिदिन आग्रह गर्दै धनगढी वितरण केन्द्रले ग्राहकलाई भरपर्दो विद्युत सेवा उपलब्ध गराउन आफू प्रतिवद्ध रहेको जनाएको छ।














