धनगढी। गत भदौ १८ गतेदेखि परेको अविरल वर्षाका कारण बाजुरा जिल्लाको जनजीवन नराम्ररी प्रभावित भएको छ।
वर्षासँगै आएको बाढी र पहिरोले जिल्लाका विभिन्न स्थानमा भौतिक क्षति पुर्याउनुका साथै यातायात र विद्युत् सेवा ठप्प पारेको हो।
वर्षाका कारण जिल्लाको गौमुल क्षेत्र र बडीमालिका नगरपालिका वडा नम्बर ८ र ९ मा धेरै क्षति पुगेको छ। मार्तडी नजिकैको गडखेतमा पहिरोले केही घर र गोठहरू भत्काउनुका साथै गोरुहरू पुरिएर मरेका छन्।
पहिरोको उच्च जोखिममा रहेका विरेखोला क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले जानकारी दिएका छन्। प्रभावितहरूलाई रेडक्रस र स्थानीय प्रशासनको समन्वयमा पाल लगायतका राहत सामग्री उपलब्ध गराइएको छ।
जिल्लाको लाइफलाइन मानिने साफे–मार्तडी सडकखण्डका विभिन्न ठाउँमा पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। कारागार मोड, सुवाकाध, राप्का र जडङ्गा लगायतका क्षेत्रमा ठुला–ठुला पहिरो खसेका छन्। सडक विभागका डोजरहरू प्रयोग गरी हिजोदेखि नै बाटो खुलाउने प्रयास भइरहेको भए तापनि निरन्तरको वर्षा र ठुला ढुङ्गाका कारण काममा बाधा पुगेको छ।
पहिरोले बिजुलीका पोलहरू ढालेपछि सदरमुकाम मार्तडी र आसपासका क्षेत्रमा विद्युत् सेवा बन्द भएको छ। विद्युत् प्राधिकरणको टोलीले पोल गाड्ने र तार मर्मत गर्ने कार्यलाई तीव्रता दिएको छ। प्रशासनले आज साँझसम्म विद्युत् सुचारु गर्ने लक्ष्य राखेको छ।
जिल्ला प्रशासन कार्यालयले सुरक्षा निकायसहितको ‘कमाण्ड पोस्ट’ स्थापना गरी उद्धार र मर्मत कार्यको प्रत्यक्ष अनुगमन गरिरहेको छ। सहायक सिडिओ पुडासैनीका अनुसार मौसममा सुधार आएमा आज साँझसम्म सडक सुचारु गर्ने र अलपत्र परेका यात्रुहरूलाई गन्तव्यमा पठाउने तयारी भइरहेको छ।
अहिले बाजुरामा वर्षा रोकिएको भए तापनि आकाशमा बादल मडारिइरहेकाले थप पहिरोको जोखिम कायमै रहेको छ। स्थानीय प्रशासनले सबै बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।रातोपाटीबाट














