काठमाडौं- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उपराष्ट्रपति पद जसपालाई दिने विषयमा गठबन्धनबीच सहमती नभएको बताएका छन् । निर्वाचनको बारेमा केही समझदारी र सहमति भए पनि उपराष्ट्रपति दिने भन्ने बारेमा निर्णय नभइसकेको उनले बताए ।
शुक्रबार ललितपुरको बाँडेगाउँमा रहेको पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको आश्रममा पुगेर उनको शालिकको दर्शनपछि सञ्चारकर्मीसँग यस्तो बताएका हुन् ।
उनले दलहरुको बीचमा सहमति गरेर उपराष्ट्रपतिको निर्वाचनमा पनि सकारात्मक परिणाम ल्याउने बताए । पदको लोभका कारण पुस १० गते कांग्रेससहितको गठबन्धन भत्किएको स्वीकार गर्दै उनले अब सच्चिएर अघि बढ्नुपर्ने बताए ।
उपसभापति खड्काले पुस १० गतेपछि नै आफूसहित पार्टीले एजेण्डामा सहमति भएका दलहरुबीचमा आन्तरिक रुपमा सुक्ष्म तरिकाले विभिन्न चरणमा संवाद अघि बढाउँदै लैजानुको परिणाम बिहीवार राष्ट्रपति पदमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएको बताए ।
उनले कांग्रेस र माओवादीलाई दुईतिर राखेर एमालेसँग कांग्रेसले सहमति गर्नेकुरा सपनामा पनि नसोच्न आग्रह गरे । उनले पुस १० गते गठबन्धन भत्किएको गल्ती अब पुनः नदोहार्याउने बताए । उनले अहिलेको गठबन्धन अब एजेण्डामा टसमस नभइ ५ वर्ष नै अघि बढ्ने दाबी गरे ।















