धनगढी- धनगढीमा क्रियाशिल पत्रकार शेरबहादुर ऐरमाथि भएको आक्रमणको घटनाको अनुसन्धान गर्न माग गरिएको छ । नेपाल पत्रकार महासंघसहित पत्रकार सम्बद्ध विभिन्न पेशागत संगठनहरुले शनिबार धनगढीस्थित रुबस होटलमा पत्रकार ऐरमाथि आक्रमण गर्नेको पहिचान गरेर कारबाही गर्न माग गरेका हुन् ।
नेपाल पत्रकार महासंघ, प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, फोटो पत्रकार महासंघ लगायतका संघसंस्थाले घटनाको भत्सर्ना गर्दै कारवाहीको माग गरेका छन् ।
महासंघका कैलाली अध्यक्ष हिमालय जोशीको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, प्रमुख प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र पाललाई भेटेर घटनाको छानविन गरी दोषीलाई पक्राउ गरि कारवाहीको दायरामा ल्याउन पत्रकारहरुले माग गरेका हुन् । साथै घाइते पत्ररका ऐरले पनि जिल्ला प्रहरी कार्यालयमा दोषीलाई कारबाहीका लागि निवेदन दर्ता गरेका छन् ।
शनिबार राति साइमन नामक संस्थाले चिकित्सक र पत्रकारलाई दिएको डिनर पार्टीमा सहभागी भएका बेला ऐरमाथि अज्ञात व्यक्तिले पछाडिबाट आक्रमण गर्दा उनको टाउकोमा गम्भीर चोट लागेको छ । सेती प्रादेशिक अस्पतालमा उपचार गराएका ऐरको टाउकोमा पाँच वटा टाका लागेका छन् ।
विगत केही दिनदेखि स्वास्थ्य क्षेत्रमा भएका विकृतिबारे समाचार सम्प्रेषण गरेका कारण मेडिकल माफियाहरुले आफूमाथि आक्रमण गरेको ऐरको आशंका छ । जिल्ला प्रहरी प्रमुख पालले घटनाबारे अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने आश्वासन दिएका छन् ।















