धनगढी- युरोपियन युनियनका राजदूत नोना डिप्रेजसहित चार जना राजदूतले सोमबार सेती प्रादेशिक अस्पतालको अवलोकन गरेका छन् । डिप्रेजसहित युरोपियन युनियन सदस्य राष्ट्र फिनल्याण्डका राजदूत रिना रिक्का हेइक्का, जर्मनीका राजदूत थोमस प्रिन र फ्रान्सका राजदूत गिल्स बोरबाओले अस्पतालको अवलोकन गरेका हुन् ।
सो क्रममा उनीहरुले अस्पतालबाट प्रदान हुँदै आएको सेवा सुविधा र सेवा प्रवाहको अवस्थाबारे अस्पतालका मेडिकल सुपरिटेण्ड डा. हेमराज पाण्डेयसंग छलफल गरेका छन् । यसैगरी, जर्मन सरकारको तर्फबाट अस्पतालले पाएको सहयोग र त्यसले पारेको प्रभावका बारेमा पनि उनीहरुले जानकारी लिएका छन् ।
जर्मन सरकारले ग्रेप परियोजनामार्फत सुदूरपश्चिममा सहयोग गर्दै आएको छ। अस्पतालको अवलोकनपछि युरेपियन युनियनका राजदूत डिप्रेजले अस्पतालको सेवा प्रवाहको अवस्था राम्रै देखिएको बताए । उनले फोहोर व्यवस्थापनमा भने केही कमीकमजोरी रहेको औंल्याउँदै सुधार गर्न आग्रह गरे ।
चार दिनसम्म सुदूरपश्चिमको भ्रमणका लागि आएको राजदूतहरुको टोलीले प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहित पालिका प्रमुखसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ। यसैगरी, टोलीले युरोपियन युनियन तथा युनियनका सदस्य राष्ट्रहरुको सहयोग तथा साझेदारीमा सञ्चालित परियोजनाको पनि विभिन्न जिल्ला पुगेर अवलोकन गर्ने जनाइएको छ।















