काठमाडौं– सरकारले कर्मचारीहरुको सरुवा, बढुवा र पदस्थापन विज्ञताका आधारमा गर्ने तयारी गरेपछि उच्च पदस्थ कर्मचारीहरुलाई आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन दिइएको छ। राष्ट्रिय किताबखाना (निजामती) ले नेपाल सरकारका सचिव तथा सहसचिवसरह (राजपत्रांकित विशिष्ट र प्रथम श्रेणी)का कर्मचारीलाई आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन दिएको हो।
किताबखानाले सोमबार एक सूचना जारी गर्दै ७ दिनभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन दिएको हो। सरकारले कर्मचारीको सरुवा, बढुवा र पदस्थापन विज्ञताका आधारमा गर्ने तयारी गरेपछि किताबखानाले यस्तो सूचना जारी गरेको राष्ट्रिय किताबखानाका महानिर्देशक डा टोकराज पाण्डेले जानकारी दिए।
उनका अनुसार कतिपय कर्मचारीको सुरु सेवा प्रवेशको मात्र शैक्षिक योग्यता रहेको र सरुवा, बढुवाको विवरणसमेत अद्यावधिक नरहेकाले यस्तो सूचना जारी गरी विवरण अद्यावधिक गर्न लागिएको हो। यो निर्णय सबै सेवा समूहका कर्मचारीका लागि लागू हुने महानिर्देशक डा पाण्डेयले बताए।













