धनगढी- डोटीमा भएको जीप दुर्घटनामा घाइते भएकी एक महिलाको मृत्यु भएको छ । मङ्गलबार बिहान भएको जीप दुर्घटनामा गम्भीर घाइते भएकी ६५ वर्षिया धौली विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक देवेन्द्र जोशीले जानकारी दिए । उनको कोहलपुर मेडिकल कलेज नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।
सिलगढीस्थित अदालत मोड नजिक भएको जीप दुर्घटनामा परी उनीसहित ६ जना घाइते भएका थिए । सिलगढीबाट दिपायल जाँदै गरेको सु प्र प ०१००१ ज १२५९ नम्बरको जीप र विपरीत दिशाबाट आएको सु प्र प ०१०१० प ४७७४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनाका गम्भीर घाइते विष्ट र मोटरसाइकल चालक विष्णु बोहरालाई नेपाली सेनाको हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेज नेपालगञ्ज पुर्याइएको थियो । बोहराको उपचार भइरहेको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा परी घाइते भएका अन्य ४ जनालाई पनि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।













