कैलाली- कैलालीको मोहन्याल गाउँ सभामा ढुङ्गा मुडा भएको छ। आइतबार मोहन्याल गाउँपालिकाको गाउँ सभामा स्थानीयहरूले ढुङ्गा मुडा प्रहार गरेका हुन्। मोहन्याल गाउँपालिकाको कार्यालय भकुण्डेटार सार्ने विषयमा गाउँ सभामा निर्णय हुन खोज्दा स्थानीयले विरोध गर्दै ढुङ्गा मुडा प्रहार गरेको बताइएको छ।
मोहन्याल गाउँपालिका वडा नम्बर ४ का स्थानीयले सभा मै प्रवेश गरी ढुङ्गा मुडा प्रहार गर्दा वडा नम्बर सातका वडा अध्यक्ष र एक वडा सदस्य सामान्य घाइते भएको प्रहरीले जनाएको छ। यस्तै स्थानीयको ढुङ्गा प्रहारबाट पालिकाको नव निर्मित भवनको सिसाहरू फुटेका छन्।स्थानीयको अवरोध पछि नगर सभा छाडेर पालिका अध्यक्ष, उपाध्यक्ष लगायत कर्मचारी रातारात खिमडी छोडेर भागेका छन्।
सो विषयमा बुझ्दा मोहन्याल गाउँपालिका अध्यक्षसँग फोन सम्पर्क हुन सकेन। यस्तै गाउँपालिका उपाध्यक्ष कमल बहादुर साउँदले आफू घाइते भएको भन्दै बोल्न नसक्ने अवस्थामा रहेको बताए। प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीको फोन स्विच अफ गरिएको छ।















