लम्की- पितृ शोकमा रहेका नेपाल प्रेस युनियन लम्की शाखा कैलालीका निवर्तमान अध्यक्ष देवानन्द न्यौपानेलाई सहयोग प्रदान गरिएको छ ।
कैलाली लम्कीचुहा नगरपालिका–३ स्थित पत्रकार न्यौपानेको घर पुगेर नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष हिमाल जोशी र नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य एवं पत्रकार महासंघ कैलालीका सल्लाहकार जगत साउदले ९भिटामानु० स्वरूप १५ हजार ५५ रुपैयाँ प्रदान गरेका हुन् ।
पितृ शोकमा रहेका पत्रकार न्यौपानेलाई पत्रकार महासंघका तर्फबाट अध्यक्ष जोशीले १० हजार र सल्लाहकार साउदले ५ हजार ५५ रुपैयाँ प्रदान गर्नु भएको महासंघ कैलाली सदस्य एवं नेपाल प्रेस युनियन कैलालीका कोषाध्यक्ष सुनिल आउजीले जानकारी दिए ।
त्यस क्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य भरत शाह, प्रेस युनियनका प्रदेश अध्यक्ष मनमोहन स्वाँर, पत्रकार महासंघका पूर्व क्षेत्रीय संयोजक प्रकाशविक्रम शाह, पत्रकार महासंघ कैलालीका पूर्व सचिव मीन ठकुरी, महासंघका कोषाध्यक्ष लक्ष्मी जोशी, सदस्य सुनिल आउजीले परिवारजनमा समवेदना प्रकट गरेका थिए ।
सामुदायिक रेडियो पश्चिम आवाज र राससमा कार्यरत न्यौपानेका पिता जगन्नाथ न्यौपानेको ८२ वर्षको उमेरमा यही जेठ ८ गते निधन भएको थियो ।













