डडेल्धुरा- न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ निर्धारण गर्नुपर्ने माग राख्दै ट्रेड युनियन कांग्रेस डडेल्धुराले ज्ञापनपत्र बुझाएको छ। न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ निर्धारण गर्नका लागि दबाव सृजना गर्न प्रमुख जिल्ला अधिकारी मार्फत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्य समिति डडेल्धुराका अध्यक्ष धनबहादुर भण्डारीले जानकारी दिए।
वर्तमान समयको मूल्य वृद्धि र महंगीलाई ध्यानमा राखी श्रमिकहरुको न्यूनतम पारिश्रमिक २५ हजार कायम गरिनुपर्ने ट्रेड युनियन कांग्रेसको माग छ। यसकै दबाब स्वरूप बिहिबार जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेलाई ट्रेड युनियन काँग्रेस जिल्ला कार्य समिति डडेल्धुराले ज्ञापनपत्र बुझाएको हो।
ज्ञापन–पत्रमा भनिएको छ ‘वर्तमान समयको मूल्य वृद्धि र महँगीलाई समेत ध्यानमा राखी नेपाल ट्रेड युनियन कांग्रेसले मिति २०८० आषाढ ४–६ सम्म काठमाडौंमा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनमा व्यापक छलफल गरी कम्तीमा श्रमिकको पारिश्रमिक न्यूनतम् मासिक २५ हजार रुपैयाँ हुनुपर्ने निर्णय गरेको छ।
यही निर्णयअनुसार विभिन्न छलफल र संवादमा समेत यही अडान राख्दै आएको छ। यसको निमित्त उत्पादकत्व वृद्धि कार्ययोजनामा पूर्ण सहयोग गर्न नेपाल ट्रेड युनियन कांग्रेस प्रतिबद्ध रहेको कुरा ज्ञापनपत्रमा उल्लेख गरिएको अध्यक्ष भण्डारीले बताए।















