धनगढी । सम्भावित वर्षा,बाढी तथा पहिरोको जोखिमका कारण सुदूरपश्चिमका विभिन्न रुटमा चल्ने लामो दूरीका सार्वजनिक बस सेवा प्रभावित भएका छन् ।
शुक्रबारदेखि आइतबारसम्मका लागि विभिन्न यातायात समितिले लामो दूरीका बस सञ्चालनमा रोक लगाएका हुन् । सुदूरपश्चिमबाट पहाडी रुटसँगै काठमाडौं, पोखरा लगायत पूर्वतर्फ जाने लामो दूरीका बससमेत तत्कालका लागि सञ्चालन नगर्ने निर्णय गरिएको छ ।
सुन्दर सुदूरपश्चिम यातायात प्रालिका कोषाध्यक्ष गोविन्द शाहका अनुसार बिहीबारदेखि नै लामो दूरीका रात्री बस सञ्चालनमा रोक लगाइएको थियो । शुक्रबार बिहानदेखि सुदूरपश्चिमका विकट तथा पहाडी क्षेत्रमा जाने बससमेत सञ्चालन नगरिएको उनले बताए ।
उनले भने ‘सरकारको निर्देशन र मौसमको अवस्थालाई ध्यानमा राखेर तत्कालका लागि लामो दूरीका बस सञ्चालन नगर्ने निर्णय गरिएको हो । जोखिम कम भएका जिल्लामा भने वर्षाको अवस्था हेरेर सेवा सञ्चालन गर्नेछौँ ।’
सुदूरपश्चिम यातायातले धनगढीबाट काठमाडौं र पोखरातर्फ जाने रात्री बस दुई दिनसम्म सञ्चालन नगर्ने निर्णय गरेको छ । धनगढीबाट पोखराका लागि दैनिक दुईवटा र काठमाडौंका लागि १३ वटा रात्री बस सञ्चालन हुँदै आएका थिए ।
यातायात व्यवसायीहरूले खराब मौसमका कारण लामो दूरीको यात्रामा जोखिम बढ्न सक्ने भएकाले यात्रु तथा चालकको सुरक्षालाई ध्यानमा राखेर सेवा स्थगित गरिएको बताइएको छ । मौसममा सुधार आएपछि मात्रै नियमित रूपमा बस सञ्चालन गर्ने जनाइएको छ ।
बस सञ्चालनमा रोक लगाउने निर्णयबारे पूर्वसूचना नपाउँदा यात्रुहरू समस्यामा परेका छन् ।















