काठमाडौँ- नेपालबाट भारतीय बजारमा ६३२ मेगावाट नै बिजुली निर्यात हुन थालेको छ । मध्यकालीन सम्झौताको ११० र प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट गरी ६३२ मेगावाट बिजुली बिक्री हुन थालेको हो । यसअघि ४५२ मेगावाट बिजुली भारतमा बिक्री गरिरहेको नेपाल विद्युत् प्राधिकरणले गत साता थप १८० मेगावाट निर्यात अनुमति पाएसँगै ६३२ मेगावाट बिक्री हुन थालेको हो ।
यसअघि प्रतिस्पर्धी बजारमा मात्रै बिजुली बेचेको नेपालले गत साता मध्यकालीन सम्झौतामा समेत अनुमति पाएपछि प्रतिस्पर्धी र मध्यकालीन बजारमा समेत बिजुली बिक्रीको बाटो खुलेको हो ।
प्राधिकरणले प्रतिस्पर्धी र मध्यकालीन दुवै गरी ६३२ मेगावाट बिजुली बिक्री गरिरहेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई जानकारी दिए । ‘अनुमति पाए जति सबै बिजुली निर्यात हुन थालेको छ,’ उनले भने, ‘देशमै बढी माग भएको दिनबाहेक अन्य समयमा हामीले भारतमा बिजुली बिक्री गरिरहेका छौं ।’
यसअघि प्रतिस्पर्धी बजारमा मात्रै अनुमति दिएको भारतले पाँच वर्षका लागि दुई आयोजनाको ११० मेगावाट बिजली बिक्रीको अनुमति गत साता दिएको थियो । प्रतिस्पर्धी बजारमा थप ७० मेगावाट स्वीकृति पाएको बिजुली भने टनकपुर–महेन्द्रनगर १३२ केभी प्रसारणलाइनबाट निर्यात भएको अधिकारीले जनाए ।
निर्यात स्वीकृति पाएका ३८.४ मेगावाट क्षमताको अपर कालंगागाड र माथिल्लो चमेलियाको ४० मेगावाट बिजुली प्रतिस्पर्धी बजारमा बिक्री हुनेछ । यी आयोजनामा प्रसारण लाइन चार्ज कटाउँदा ७० मेगावाट भारतीय प्रतिस्पर्धी बजारमा बिक्री हुन थालेको हो ।
प्राधिकरणले ०७८ कात्तिकदेखि भारतमा बिजुली निर्यात गर्दै आएको छ । पहिलो पटक दुई वटा जलविद्युत् आयोजनाबाट उत्पादित ३९ मेगावाट विद्युत् बिक्री सुरु गरेको थियो । ०७९ जेठमा थप ६ वटा आयोजनाको ३६४ मेगावाट बिजुली भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्रीको अनुमति पाएको थियो । ०७९ कात्तिकमा थप दुई गरी कुल १० आयोजनाको स्वीकृत यसअघि नै पाइसकेको छ ।
पछिल्ला थप दुई आयोजनाको अनुमतिसँगै १२ जलविद्युत् आयोजना बिजुली प्रतिस्पर्धी बजारमा बेच्न पाउनेछ । भारतले गत महिना मात्रै ऊर्जा व्यापार सम्झौता भएका मुलुकलाई सहज हुने गरी क्रस बोर्डर इलेक्ट्रिसिटी ट्रेड नियम परिवर्तन गरेको थियो ।
भारतले गत साता मात्रै नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव पास गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा भएको १० वर्षे सम्झौता भारतीय मन्त्रिपरिषद्बाट स्वीकृत भएको थियो ।














