कैलाली- मत्स्य विकास केन्द्र गेटाले वार्षिक ५५ लाखका भुरा माछा बेच्ने गरेको छ । सात जातका कार्क माछाको प्रजनन गराइ वार्षिक सो बराबरको भुरा माछा बेच्ने गरेको हो ।
वार्षिक ४ करोड ह्याचलिङ,३० लाख फिङ्गर,३० लाख फ्राई,१० क्विन्टल यरलिङ भुरामाछा उत्पादन हुने गरेको मत्स्य विकास अधिकृत निर्मल खातीले निशाना न्युजलाई जानकारी दिए ।
उनले भने ‘रोग लागेन भने लक्ष्यमा पुग्न सजिलो हुन्छ,यदी माछामा जुका, जुम्रा,ब्याक्टोरियल,फङ्गस जस्ता रोग लागेमा लक्ष्यमा पुग्न सकिदैन’ ।
सुदूरपश्चिमका ९ जिल्ला तथा बाँके,बर्दियाका कृषकले पनि मत्स्य विकास केन्द्रबाट माछाका भुरा लैजाने गरेको उनले बताए । त्यस्तै चालु आवबाट दाङ र कालिकोटका कृषकले पनि यो मत्स्य विकास केन्द्रबाट माछा लिने गरेको उनको भनाइ छ ।

कृषक खुशी नै हुने गरेको बताउँदै उनले पछिल्लो ३ महिनाको अवधिमा २ सय ९८ कृषकले भुरा लगेको र जसबाट १५ लाखको राजस्व संकलन भएको बताए । सस्तो सुलभ,सरकारी दररेटमा भुरा बिक्री गरिने हुनाले पनि कृषकको रोजाइमा यो मत्स्य विकास केन्द्र पर्ने गरेको खातीको भनाइ छ ।
मत्स्य सम्बन्धी तालिम,गुणस्तर चेकजाँच, रोग देखापरेमा शिविर संचालन गरी रोग निदानका उपाय अपनाउनाले पनि कृषक खुशी हुने गरेको मत्स्य विकास अधिकृत खातीको भनाइ छ ।














