धनगढी- कञ्चनपुरको पुनर्वास नगरपालिका लाई साक्षर घोषणा गरिएको छ । शनिवार एक कार्यक्रम बिच पुनर्वासलाई साक्षर घोषणा गरिएको हो । मापदण्ड अनुसार पुनर्वास नगरपालिका भित्र रहेका जनसंख्या मध्ये ९५.२५ प्रतिशत जनसंख्या साक्षर रहेकाले नगरलाई साक्षर घोषणा गरिएको शिक्षा शाखा प्रमुख शिव राज भट्टले बताए । साक्षर नगरपालिका घोषणाको मापदण्ड अनुसार १५ देखि ६० वर्ष उमेरको जनसंख्याको ९५ प्रतिशत जनसंख्या साक्षर हुनु पर्छ ।
पुनर्वासमा नगरपालिकामा साक्षर महिला २० हजार नौ सय ५३ जना र साक्षर पुरुष २२ हजार सात सय २३ जना गरी जम्मा साक्षर जनसंख्या ४३ हजार छ सय ७६ जना साक्षर जनसंख्या रहेको छ । जस अनुसार साक्षर प्रतिशत ९५.२५ हुन आउँछ ।
पुनर्वासको वार्ड नं. १ मा ९३ प्रतिशत, वार्ड नं. २ मा ९७.३४ प्रतिशत , वार्ड नं. ३ मा ९७.४७ प्रतिशत , वार्ड नं. ४ मा ९३.७४ प्रतिशत , वार्ड नं. ५ मा ९०.८ प्रतिशत , वार्ड नं. ६ मा ९७.०९ प्रतिशत जनसंख्या साक्षर रहेका छन् ।
त्यसैगरी वार्ड नं. ७ मा ९५.०४ प्रतिशत , वार्ड नं. ८ मा ९५.०८ प्रतिशत , वार्ड नं. ९ मा ९६.२९ प्रतिशत , वार्ड नं. १० मा ९७.४९ प्रतिशत र वार्ड नं. ११ मा ९५.१६ प्रतिशत जनसंख्या साक्षर रहेको छ । कञ्चनपुर जिल्लामा साक्षर नगरपालिका घोषणा गर्ने यो अन्तिम नगरपालिका हो ।













