धनगढी- नेपाललाई कृषि प्रधान देश भनिएपनि खाद्यान्नमा परनिर्भता बढ्दै गएको छ । छिमेकी मुलुक भारतबाट हुने खाद्यान्न आयात वर्षेनी बढ्दै गएको हो ।
आर्थिक वर्ष २०८०/८१ कैलाली भन्सार कार्यालय धनगढीबाट ५२ करोड ६१ लख ७४ हजारको खाद्यान्न आयात भएको छ । एक वर्षको अवधिमा २६ करोड ३७ लाख ३५ हजारको गहुँ,१८ करोड ३८ लाख ६८ हजारको मकै,२७ लाख ३५ हजारको बास्मती चामल,५ करोड ६६ लाख ५२ हजारको अन्य चामल र १ करोड ९१ लख ८१ हजारको तोरीको दाना आयात भएको कैलाली भन्सार कार्यालयको सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए ।
उक्त खाद्यान्न आयातबाट दुई करोड ७६ लाख ३९ हजार राजस्व संकलन भएको उनले जानकारी दिए । उनका अनुसार गहुँ आयातबाट एक करोड ३१ लख ८६ हजार,मकैबाट ९४ लाख ८३ हजार,बास्मती चामलबाट तीन लाख १४ हजार,अन्य चामलबाट एक लाख ४१ हजार र तोरी आयातबाट ४५ लाख १३ हजार राजस्व संकलन भएको छ ।
आर्थिक वर्ष २०७९/८० मा ५१ करोड २३ लाख ३२ हजारको खाद्यान्न आयात भएको र पाँच करोड ७१ लख नौ हजार राजस्व संकलन भएको कैलाली भन्सार कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७९/८० मा १० करोड ५० लाख ४६ हजारको गहुँ,१० करोड ६८ लाख ६० हजारको चामल र २६ करोड ९२ लाख १६ हजारको तोरी आयात भएको जनाइएको छ ।














