धनगढी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सुशासनको अभियान सुरु गर्दा विचौलिया र दलालहरु भयवित भएको बताएका छन् ।
शनिबार कञ्चनपुरको पुनर्वासमा आयोजित भ्रष्टाचार र बेथितिकाविरुद्ध खबरदारी तथा पार्टी एकता समायोजन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्ड भने ‘मेरो नेतृत्वको सरकारले १८ महिनाको अवधिमा सुशासनको पक्षमा,भष्ट्राचारको विरुद्धमा अभियान सुरु गरेको थिए । त्यतिबेला विभिन्न पार्टीका ठूला नेता,कर्मचारीतन्त्रका ठूला कर्मचारीदेखि भूमाफिया,दलाल,विचौलियाको जत्था पनि त्यो अभियानमा परेको थियो ।’
उनले भने ‘त्यो सुशासन,भष्ट्राचारको विरुद्धको अभियान अभियानबाट दलाल,पुँजीपति,नोकरशाही,बिचौलिया भयवित भए । मलाई सरकारबाट हटाए ।’ अहिलेको सरकार सुशासनकोविरुद्ध र भ्रष्टाचारको पक्षमा काम गरिरहेको बताउँदै उनले देशमा भष्टाचार अन्त्यका लागि माओवादी पार्टी एक नम्बरको पार्टी हुनुपर्ने बताए ।
उनले भने ‘देशमा माओवादी पार्टी एक नम्बरको भएमात्रै भ्रष्टाचारको अन्त्य हुनेछ,सामाजिक न्याय हुने छ ।’ कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि तीन सय ५० बढी माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्रले जनाएको छ । पार्टीमा नवप्रवेशीलाई अध्यक्ष दाहालले स्वागत गरेका थिए । सभामा हजारौंको उपस्थिति रहेको थियो ।













