धनगढी । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूपश्चिम प्रदेश कार्यालयले कैलालीमा सन् २०२४ मा मानवअधिकार उल्लङ्घनका घटनाबाट तीन सय ६४ जना पीडित भएको जनाएको छ ।
इन्सेक कार्यालयका अनुसार सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा जिल्लामा मानवअधिकार उल्लङ्घनका घटनाबाट उक्त सङ्ख्याका नागरिक पीडित भएका हुन् ।
सन् २०२४ मा गैह्रराज्य पक्षबाट तीन सय ४५ महिला,११ जना पुरुष गरि तीन सय ५६ जना र राज्यपक्षबाट आठ जना पुरुष पीडित भएको इन्सेक प्रदेश कार्यालयका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले जानकारी दिए ।
गैह्रराज्य पक्षबाट घरेलु हिंसाका घटनाबाट दुई सय २६ जना,बलात्कार तथा बलात्कार प्रयासबाट ५० जना,दोस्रो विवाहबाट १६,सम्पतिको अधिकारबाट तीन जना र बोक्सी आरोपबाट दुई जना महिला पीडित भएको उनले जानकारी दिए । त्यस्तै, उनले ४६ जना बालिका बलात्कार तथा यौन दुव्र्यवहारबाट पीडित भएको बताए ।
पछिल्ला वर्षहरुमा राज्यपक्षबाट मानवअधिकार उल्लङ्घनका घटनाबाट पीडित हुनेको सङ्ख्या घट्दै गएको इन्सेकका सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले बताए । उनले भने ‘पहिले पीडितको जाहेरी दर्ता गर्नका लागि धर्ना बस्नुपर्ने अवस्था थियो । अहिले त्यस्तो छैन् । सहजै उजुरी दर्ता हुन्छ । राज्यपक्षबाट मानवअधिकारको अवस्था राम्रो हुँदै गएको छ ।’
उनले परिवार,समाजबाट महिला हिंसाका घटना बढ्दै गएको बताए । कानुन कार्यान्वयनका तौरतरिका कमजोर हुँदा यस्ता घटना बढ्ने गरेको उनको भनाइ थियो ।













