रमेश केसी
बझाङ । खप्तडछान्ना गाउँपालिका–७ गोर्खालीका ३३ वर्षीय जितेन्द्र खड्का जंगलमा च्याउ टिप्न गएको ६ दिनदेखि परिवारको सम्पर्कमा आएका छैनन् ।
खड्का भदौ २३ गते बिहान लहरे सामुदायिक वनअन्तर्गत डाँडाकोट क्षेत्रमा जंगली च्याउ टिप्न भन्दै घरबाट निस्किएका थिए । ‘च्याउ टिप्न जान्छु, बेलुका फर्किन्छु’ भन्दै घरबाट निस्किएका उनी त्यसपछि घर नफर्किएको उनका भाइ सुरेश खड्काले बताए ।
डाँडाकोट क्षेत्र बझाङ र बाजुराको सीमाक्षेत्रमा पर्छ । लामो समयसम्म घर नफर्किएपछि परिवार तथा आफन्तले खोजी सुरु गरेका छन् । सुरेशका अनुसार आइतबार पनि गाउँले, आफन्त र दाजुभाइको ठूलो समूह जंगलमा पुगेर खड्काको खोजी गरिरहेको छ ।
खड्का सम्पर्कविहीन भएपछि जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी टोलीसमेत शनिबारदेखि डाँडाकोट क्षेत्रमा परिचालन गरिएको छ । जंगलको क्षेत्र ठूलो भएकाले खोजी कार्यमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपक बिष्टले बताए । उनका अनुसार घटनाबारे जिल्ला प्रहरी कार्यालय बाजुरालाई समेत जानकारी गराइएको छ ।
खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष उत्तम रोकायाले पनि खड्काको खोजी कार्य भइरहेको बताए ।
केही वर्षदेखि रोजगारीका सिलसिलामा भारतमा रहेका खड्का केही समयअघि मात्रै घर आएका थिए ।














