धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री खुशीराम डगौरा थारुले नेपालको वर्तमान संविधान नेपाली समाजको विविधतालाई समेट्ने सामाजिक दस्तावेज भएको बताएका छन्।
शनिबार संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८३ को अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री थारुले नेपालको वर्तमान संविधान केवल कानुनको संग्रह मात्र नभइ नेपाली समाजको विविधतालाई समेट्ने सामाजिक दस्तावेज र विविधतामा एकताको प्रतीक भएको बताए ।
उनले नेपालको संविधान र यसको भावनाअनुरुप राज्यका अङ्गहरू सञ्चालन गर्नु सबैको साझा कर्तव्य भएको बताए।
मन्त्री थारुले संविधानको सफल कार्यान्वयन मार्फत जनताको जीवनमा परिवर्तन ल्याउन जरुरी रहेको बताए।
उनले भने ‘अधिकार कागजमा मात्रै सीमित हुनु हुँदैन जनताको घरदैलोमा पुर्याउन जरुरी छ।’
उनले मन्त्रालयले प्रदेशको शान्ति सुरक्षा कानुन निर्माण सुशासन र नागरिकको हकहितको सुरक्षाका लागि आफ्नो जिम्मेवारीलाई गतिशील बनाउँदै आएको बताए।
उनले भने ‘मन्त्रालय नागरिकको शान्ति,सुरक्षा र अमन चयनका लागि आवश्यक कानुन, कार्यविधि, निर्देशिका तर्जुमा गरी कानुनी राज्यको प्रत्याभूति तर्फ अग्रसर रहेको छ ।’
त्यस्तै, मन्त्री थारुले मन्त्रालयले साझा अधिकारको कार्यान्वयनका लागि प्रेस तथा पत्रकारिता,विपद व्यवस्थापन, सामाजिक सुरक्षाका लागि संघ र स्थानीय सरकारसँग समन्वय गर्दै आएको बताए।
भौगोलिक रूपमा संवेदनशील यस प्रदेशमा बाढी,पहिरो तथा भूकम्पजस्ता विपदबाट बच्न पूर्वतयारी,उद्धार,राहतलाई प्रभावकारी बनाउन मन्त्रालय सधैँ तयार रहेको बताए।















