धनगढी ।तीन दिन भारी वर्षा हुने पूर्वानुमानपछि सुदूरपश्चिममा सम्भावित विपदलाई ध्यानमा राखेर सरोकारवाला संयन्त्रलाई तयारी अवस्थामा राखिएको छ ।
बाढी, पहिरोको उच्च जोखिममा रहेका क्षेत्रमा तीनवटै सुरक्षा निकायका टोली परिचालन गरिएको छ ।विपदका बेला खटिनका लागि नेपाली सेनाको हेलिकप्टर पनि तयारी अवस्थामा राखिएको छ ।
प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीको अध्यक्षमा रहने प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले सम्भावित विपदलाई ध्यानमा राखेर सबैखाले पूर्वतयारी गर्ने निर्णय गरेको छ ।
यो समितिमा प्रदेशस्थित सबै सुरक्षा निकायका अधिकारीहरु सदस्य छन् । प्रदेशका सातवटै मन्त्रालयका सचिव र सुरक्षा अधिकारीहरु सदस्य तथा प्रमुख सचिवको अध्यक्षतामा रहेको मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठकमा पनि संभावित विपद, प्रतिकार्य र राहतका विषयमा छलफल भएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव धर्मराज जोशीले प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार बाढीपहिरोको उच्च जोखिम भएका कतिपय क्षेत्रमा तीनवटै सुरक्षा निकायका टोली तयारी अवस्थामा राखिएको बताए ।
त्यस्ता ठाउँमा आवश्यक परे खटिन अस्थायी सुरक्षा बेशहरु राखिएका छन् । शुक्रबारदेखि तीन दिनसम्म अत्यावश्यकबाहेक यात्रा नगर्न, प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको सचिव जोशीले बताए ।
प्रदेशमा संभावित विपदलाई मध्यनजर गर्दै नेपाली सेनाको सुदूरपश्चिम पृतना कैलालीमा ‘जोइन्ट अपरेशन टीम’ परिचालन गरिएको छ । टीममा प्रदेश सरकार तथा सबै सुरक्षा निकायका प्रतिनिधि छन् ।
टीमले सूचना सम्प्रेषण, परिचालनलगायत कार्यमा सहयोग गर्ने बताइएको छ ।
विपद आएका बेला आवश्यकताअनुसार खटिनका लागि सेनाको सुदूरपश्चिम पृतनामा हेलिकप्टर पनि तयारी अवस्थामा रहेको मन्त्रालयका सचिव जोशीले जानकारी दिए । प्रदेशले प्रदेशस्थित सबै जिल्ला प्रशासन कार्यालयलाई पनि पूर्वतयारीमा जुट्न आग्रह गरेको उनले बताए । प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र पनि विपदको सूचना संकलन, सम्प्रेषणका लागि तयारी अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।
सुरक्षा निकायले मातहतका कर्मचारीलाई यो अवधिमा विदामा नबस्न भनेका छन् ।
कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले डुवानको उच्च जोखिममा रहेका क्षेत्रमा डुङ्गालगायत आवश्यक सामग्रीसहित सुरक्षाकर्मीको टोली तयारी अवस्थामा राखिएको बताएका छन् ।
उनले टीकापुरमा कर्णाली नदीको कटान बढी भएको क्षेत्रमा सुरक्षाकर्मी र स्थानीयको सहभागितामा अस्थायी तटबन्ध पनि बनाइएको जानकारी दिए ।
९ देखि ११ असोजसम्म अति वर्षाको संभावना रहेको भन्दै ‘अलर्ट’ जारी गरिएको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय अत्तरियाका निमित्त प्रमुख सञ्जयकुमार शाहले अति वर्षा र हिमपातको संभावना रहेकाले यहाँका नौवटै जिल्ला विपदको जोखिममा रहेका बताए । यहाँ हिजो रातिदेखि मौसममा बदली देखिएको छ ।
बाजुरा, बझाङ र दार्चुलाका हिमाली क्षेत्रमा भारी हिमपात र अन्य जिल्लामा भारी वर्षाको पूर्वानुमान रहेको उनले बताए ।
नौवटै जिल्लामा मनसुन सतर्कताको तह पार गरेर खतराको तहमा पुग्ने अनुमान रहेको शाहले बताए । ‘हिमाली क्षेत्रमा भारी हिमपात हुने तथा भारी वर्षाले सुदूरपश्चिमका विभिन्न जिल्लामा बाढीपहिरोको उच्च जोखिम छ’ उनले भने, ‘यो तीन दिन अत्यावश्यकबाहेक यात्रा नगर्न, जोखिमयुक्त क्षेत्रका बासिन्दालाई खासगरी रातिको समयमा सुरक्षित ठाउँमा बस्न विभागले नै अलर्ट गरेको छ ।’भारी वर्षाका कारण चुरे क्षेत्र भएर आएका नदीमा बाढीको सतह बढेर कैलाली, कञ्चनपुरका तटीय क्षेत्रमा डुवान हुने जोखिम रहेको अधिकारीहरुले बताएका छन् । त्यस्तै पहाडी जिल्लामा पहिरो जोखिम छ ।
विद्यालयमा विदा, जोखिमपूर्ण बस्तीमा माइकिङ
कैलालीका विभिन्न पालिकाहरुले डुवान हुनसक्ने भन्दै विद्यालयहरुमा आज विदा दिनुका साथै सतर्क रहनका लागि एक÷दुई दिनअघिदेखिनै माइकिङ गरिरहेका छन् ।
धनगढी उपमहानगरपालिका, टीकापुर र भजनी नगरपालिका, जानकाी गाउँपालिकालगायत स्थानीय तहहरुले डुवानको जोखिममा रहेका बस्तीमा माइकिङ गर्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।
टीकापुर नगरपालिका, गौरीगंगा नगरपालिकालगायत पालिकाले भारी वर्षाका कारण बाढी, डुवानलगायत विपदको जोखिम रहेको भन्दै विद्यालयमा शुक्रबार विदा दिने निर्णय गरेका छन् ।
ती पालिकाहरुले सूचना जारी गर्दै विद्यालयमा एक दिन विदा दिन भनेका छन् । अविरल वर्षाका कारण बाढी, डुवानलगायत विपद आउनसक्ने भएकाले विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको टीकापुरका प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोलाले बताएकी छन् ।















