महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा जोगबुढा नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै स्थानीय १४ परिवारको सामान आज सुरक्षित स्थानमा सारिएको छ ।
सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलले उक्त नगरपालिका–३ मा पटरा खल्लामा १४ घर परिवारको अन्नबालीलगायत सामग्री जमुना आधारभूत विद्यालयमा सारिएको जानकारी दिए ।
सीमा सुरक्षा गुल्म देवीस्थानबाट खटिएको प्रहरी टोलीले उक्त सामग्री सुरक्षित स्थानमा सारेको हो । सोही वडाका वडाध्यक्ष हरिसिंह धनाडीले मौसम पूर्वानुमान महाशाखाबाट भारी वर्षा हुनसक्ने भन्दै सर्तक रहन आग्रह गरिए अनुसार स्थानीयवासीमा सचेत रहन वडा र नगरपालिकाबाट सूचना गरिएको बताए ।
“अहिलेसम्म त्यस प्रकारको खतरा छैन । तर सर्तकता अपनाइएको छ”, उनले भने, “सुरक्षा निकाय र स्थानीय तहबीच पनि विपद् प्रतिकार्य खोज तथा उद्धारका लागि समन्वय भएको छ ।”
नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले विपद् प्रतिकार्यका लागि आवश्यक विपद् उद्धार सामग्रीसहित तालिमप्राप्त जनशक्ति तयारी अवस्थामा रहेको जनाएको छ । जिल्लाभरको सम्भावित विपद् क्षति न्यूनीकरण तथा आवश्यक समन्वयका लागि जिल्ला प्रशासन कार्यालयमा ‘कमाण्ड पोष्ट’ स्थापना भई आवश्यक निगरानीसमेत बढाइएको छ ।रासस















