काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज (सोमबार) बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया पनि सुरु हुँदैछ ।
आइतबार काठमाडौँमा उद्घाटन सत्र सम्पन्न भएपछि आज बिहान ९ बजेदेखि बन्द सत्र सुरु हुन लागेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । आजको बन्द सत्रमा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक तथा समसामयिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
यसैबिच, महाधिवेशनअन्तर्गत केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार आजै साँझदेखि निर्वाचन सम्बन्धी प्रारम्भिक प्रक्रियाहरू अघि बढाइनेछ ।
कार्यतालिका अनुसार आज बेलुका ५ः०० बजे मतदाता नामावली प्रकाशन गरिनेछ भने सोही नामावलीउपर बेलुका ६ः३० बजेसम्म दाबी विरोध दर्ता गर्ने समय तोकिएको छ । प्राप्त दाबी विरोधहरूमाथि बेलुका ७ः३० बजेसम्म आवश्यक जाँचबुझ गरिनेछ । दाबी विरोधको प्रक्रिया टुङ्ग्याएर निर्वाचन समितिले आजै बेलुका ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ ।














