धनगढी । कैलालीमा पछिल्लो समय परेको वर्षाका कारण धानबालीमा क्षति पुगेको छ । मंगलबार राति र बिहीबार बिहान परेको वर्षाले खेतमा काटेर सुकाउन राखिएको धान भिजेको हो ।
धान पाकेर भित्र्याउने तयारीमा रहेका किसानलाई वर्षाले थप समस्या पारेको छ । काटेर खेतमै सुकाउन राखिएको धान भिजेपछि गुणस्तरमा असर पर्ने भन्दै किसान चिन्तित भएका छन् ।
कृषि ज्ञान केन्द्र कैलालीका कृषि प्रसार अधिकृत टेक बिष्टका अनुसार जिल्लामा हालसम्म करिब ५ प्रतिशत धानबालीमा क्षति पुगेको प्रारम्भिक अनुमान छ । यद्यपि वर्षाका कारण धानको उत्पादन र उत्पादकत्वमा ठूलो असर पर्ने अवस्था नरहेको उनले बताए ।
कैलालीमा करिब ४० प्रतिशत धान काट्ने अवस्थामा पुगेको छ । तर, मनसुन अझै सक्रिय रहेकाले तत्काल धान नकाट्न कृषि ज्ञान केन्द्रले किसानलाई आग्रह गरेको छ ।
मनसुन पूर्ण रूपमा सकिएपछि मात्रै धान काटेर भित्र्याउन सुझाव दिइएको छ । पाकिसकेको धान खेतमै राख्दा वर्षाले थप क्षति पुर्याउन सक्ने भएकाले मौसमको अवस्था हेरेर धान भित्र्याउन कृषि ज्ञान केन्द्रले किसानलाई आग्रह गरेको छ ।














