बैतडी- पुर्चौडी बहुमुखी क्याम्पसमा कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेवि संघ) ले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) लगायतको संयुक्त प्यानलका निर्वाचन परिचालन समिति सहसंयोजक करन कुँवरमाथि हातपात गरेका छन्। नेवि संघ र कांग्रेस कार्यकर्ताहरूले गुण्डागर्दी शैलीमा स्ववियु निर्वाचन परिचालन समितिका सहसंयोजक कुवरमाथि हातपात र गालीगलौज गरेको भन्दै तीन विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका हुन्।
एमाले निकट अनेरास्ववियुका जिल्ला अध्यक्ष नरेन्द्र साउद, माओवादी केन्द्रको अनेरास्ववियु (क्रान्तिकारी) का संयोजक गणेश बम र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य सुरेन्द्र धामीले विज्ञप्ति निकाल्दै घटनाको भर्त्सना गरेका छन्।दोषीमाथि कारबाही हुनुपर्ने र भयरहित ढङ्गले निर्वाचन गतिविधि सञ्चालनको माहौल बनाउनुपर्ने माग पनि विद्यार्थी नेताहरूले गरेका छन्।
यी तीन संगठनकाबीच यहीँ चैत ५ गते पुर्चौडी बहुमुखी क्याम्पसमा हुने स्ववियु चुनावमा मिलेर जाने सहमति छ। यी तीनै विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ति निकाल्दै निर्वाचन हार्ने निश्चित भएपछि नेवि संघ गुण्डागर्दीमा उत्रिएको आरोप लगाएका छन्।
उक्त घटनाको भर्त्सना गर्दै यस्तै गतिविधि जारी रहे चुनावमा भाग नलिने र प्रतिकारमा उत्रिने चेतावनी पनि तीन विद्यार्थी संगठनले दिएको छ।यसअघि नेवि संघले क्याम्पसमा तालाबन्दी गरेको थियो। क्याम्पस प्रशासनले निर्वाचन कार्य तालिका विपरीत मनोमानी ढङ्गले काम गरिरहेको आरोप लगाउँदै तालाबन्दी गरिएको थियो।















