काठमाडौं- पर्यटन प्रवर्द्धनका लागि युवा पत्रकार तथा कलाकारको टोलीले पूर्वी नेपालदेखि पश्चिम नेपालसम्म यात्रा सुरु गरेको छ। एनटीपी मल्टिमिडिया ग्रुपले आजदेखि ताप्लेजुङ–दार्चुला बाइक यात्रा सुरु गरेको हो। आज १० गतेदेखि सुरु बाइक टूर यात्रा २५ गतेसम्म १५ दिन रहने छ।
नेपाल टुरिजम प्रमोसन टूर ९ताप्लेजुङ–दार्चुला० का संयोजक विष्णु विवेकले एनटीपी मल्टिमिडिया ग्रुपको संयोजनमा पूर्वदेखि पश्चिमसम्मका मुख्य पर्यटकीय गन्तव्यहरूको थप प्रचारप्रसार र पर्यटन प्रवद्धनका लागि सामूहिक प्रयासस्वरुप ताप्लेजुङ–दार्चुला बाइक टूर गर्न लागेको बताए।
विष्णु विवेकले भने, ‘‘पाँच वटा बाइकमा १० जनाको टिमले गर्ने टुरको लागि नेपाल पर्यटन बोर्ड, नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), होटल एसोसिएसन अफ नेपाल ९हान० र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)सँग सहकार्य गरिएको छ।’’
आज सुरु टूर अन्तर्गत काठमाडौंदेखि मध्यपहाडी लोकमार्ग भएर सिन्धुली, खोटाङ, भोजपुर हुँदै ताप्लेजुङ पुग्ने र ताप्लेजुङदेखि मेची राजमार्ग हुँदै झापा पुग्ने योजना छ।
झापादेखि महेन्द्र राजमार्ग हुँदै कञ्चनपुर र कञ्चनपुरदेखि अत्तरिया हुँदै डडेलधुरा भएर दार्चुला पुग्ने योजना ग्रुपको छ। यस्तै, दार्चुलाबाट मध्यपहाडी लोकमार्ग भएर डोटी, अछाम, कालीकोट, दैलेख भएर सुर्खेत सदरमुकाम वीरेन्द्रनगर झर्ने योजना ग्रुपको छ।













