धनगढी- धनगढी उप–महानगरपालिकाले फोहोर संकलन गर्ने गाडीमा जीपीएस प्रणाली जडान गरेको छ । उप–महानगरपालिकाले उक्त प्रणाली जडान गरेसँगै अब नगरका मानिसले फोहोर बोक्ने गाडी आफ्नो घर नजिक आइपुगेको आफ्नो मोबाइल मार्फत नै थाहा पाउने भएका छन् ।
धनगढी उप–महानगरपालिकाले नगरमा फोहोर बोक्ने गाडीमा जीपीएस जडान गरेको नगर प्रमुख गोपाल हमालले जानकारी दिए । उनले उपमहानगरपालिकाको तर्फबाट दुईओटा ट्राक्टरमा जीपीएस जडान गरिएको बताए ।
फोहरमैला संकलनलाई थप प्रभावकारी बनाउन समाजका लागि युवा संस्थासँगको सहकार्यमा उप – महानगरपालिकाले लुना जीपीएसको यो सेवा प्रयोगमा ल्याएको हो ।
यो लिंकमा क्लिक गरेर उक्त एप डाउनलोड गर्न सकिनेछ । सो एप मार्फत नगरवासीले सहजै फोहोर संकलन गर्ने गाडी कहाँ आइपुग्यो भनेर थाहा पाउन सक्नेछन्।
साथै सो गाडी घर नजिकै पुग्दा उक्त एपले नगराबासीको मोबाइलमा नोटिफिकेसन पठाउनेछ । प्रविधि प्रभावकारी भएमा फोहरमैला संकलन गर्ने अन्य गाडीहरुमा उक्त प्रविधि जडान गरिने नगर प्रमुख हमालको भनाई छ ।















