धनगढी – कैलाली जिल्लाको घोडाघोडी नगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता,पुर्णखोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ नगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता र दिगोपना’ घोषणा गरिएको हो । घोषणा कार्यक्रममा सहभागीहरूले खोप लगाऔँ, रोग भगाऔँ भनेर साझा प्रतिबद्धता समेत गरेका छन् ।
स्वास्थ्य कार्यालय कैलालीका खोप समन्वय समिति प्रमुख खगराज भुसाल, नगर प्रमुख खडक बहादुर रावत,उप प्रमुख गुलिया कुमारी चौधरीले संयुक्त रुपमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना’ घोषणा गरेका हुन् ।
चालू आर्थिक वर्ष २०७९/०८० मा यस पालिकामा १ देखि १२ वटै वडाका शून्यदेखि १५ महिना मुनिका र १६ देखि २३ महिना मुनिका सबै बालबालिकाहरूले खोप पाइसकेकाले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा गरिएको घोडाघोडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जगदीश कुश्मीले जानकारी दिनु भयो ।
उनका अनुसार अहिलेसम्म पालिकामा ९५ प्रतिशत बालबालिकाले खोप कार्ड पाएको देखिएको छ । गाउँपालिकाका सबै बालबालिकाले सबै प्रकारको खोप लगाएको सुनिश्चित भएकाले ‘पूर्ण खोप सुनिश्चितता र दिगोपना’ घोषणा गरिएको हो ।
यसै गरी, पूर्ण खोप सुनिश्चितता कार्यक्रममा पालिका भित्रका स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाईमा कार्यरत खोप फोकल पर्सनलाई प्रशंसा पत्रमार्फत सम्मान गरिएको छ ।
पूर्ण खोप दिगोपना तथा सुनिश्चितता सम्बन्धी घोषणा कार्यक्रममा नगर प्रमुख,उप प्रमुख, निमित्त प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाईका प्रमुख तथा प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिति रहेको थियो ।













