बाजुरा- जिल्ला अस्पताल बाजुरामा अत्याधुनिक एक्सरे मेसिनको उद्घाटन गरिएको छ । बिहीबार एक कार्यक्रमका बिच जिल्ला अस्पतालमा सो मेसिनको उद्घाटन गरिएको जिल्ला अस्पतालका अध्यक्ष मानबहादुर कार्कीले बताएका छन् ।
मेसिनको बटन थिचेर उद्घाटन बडिमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काले गरेका थिए । उक्त मेसिनको उद्घाटन भएसँगै अस्पतालमा आउने अप्रेसन गर्नुपर्ने खालका बिरामी तथा हाड जोर्नीलगायतका बिरामीलाई उपचारमा थप सहज हुने हाड जोर्नी तथा नसा रोग बिशषज्ञ डाक्टर रोशन भट्टराईले बताएका छन् ।
अत्याधुनिक एक्सरे मेसिन (carm) ले जटिल प्रकारका एक्सरे हुने तथा अप्रेसनमा समेत ठुलो सहयोग पुग्ने भएको छ । अस्पतालमा डाक्टर मात्र भएर नहुने भएकाले आफूले जति सेवा दिनुपर्ने थियो, त्यति सेवा दिन नसकिएकाले अहिले उपलब्ध सा्रेत साधनले बिरामीलाई उपचारमा सहयोग पुग्ने डाक्टर भट्टराईले बताए ।
उक्त मेसिन सुगम जिल्लामा अहिले पनि नभएको अवस्थामा दुर्गम जिल्ला बाजुरा अस्पतालमा आउनु अस्पतालको ठुलो उपलब्धि भएको पनि डाक्टर भट्टरार्इले बताए । डाक्टर भटराइल भने हड्डी भाँचिएको बिरामीलाई पनि अप्रेसन गर्नु पर्ने बाध्यता रहँदै आएकोमा अबदेखि उक्त मेसिनबाटै हड्डीमा रड लगाउन सकिने बताए ।
बाजुरा अस्पतालमा आजै एक जना बालकको उक्त मेसिनबाट हाड जोर्नीसम्बन्धी शल्यक्रिया गरिने डाक्टर भटराईले बताए । अहिले ल्याएको मेसिनको सहायताले मानिसको शरीर भित्रको हड्डी मिलाएर उपचार गर्न धेरै सहज हुने उनले बताए ।
बाजुरा अस्पतालमा यसअघि सामान्य खालका हाड जोर्नीको अप्रेसनहरू हुँदै आएको थियो । जटिल खालको अप्रेसन गर्नका लागि बयालपाट, धनगढी, नेपालगन्ज लगायतका ठाउँमा रिफर गर्नुपर्ने बाध्यता रहेको थियो ।















