धनगढी– धनगढी उपमहानगरपालिका नेतृत्वको बजार अनुगमन टोलीले शुक्रबार धनगढीको वडा नम्बर ७ क्षेत्रमा बजार अनुगमन गरेको छ ।
अनुगमनका क्रममा टोलीले विभिन्न तीन वटा व्यापारिक फर्मलाई जरिवाना गराएको छ । मनेहरास्थित नम्रता ट्रेड लिंकबाट टोलीले म्याद गुज्रेको पेन्ट (कलर) फेला पारेको छ । उक्त फर्मलाई पहिलोपटकका लागि न्युनतम एक हजार रुपैयाँ जरिवाना गराएर छोडिएको छ ।
त्यस्तै सोही ठाउँको न्यु केदारनाथ हार्डवयरलाई पनि एक हजार जरिवाना गरिएको छ । जहाँ टोलीले म्याद सकिएको पेन्ट फेला पार्नुका साथै आफै एमआरपी मूल्य सच्याएर लेखेको भेटाएको थियो ।
मनेहराकै न्यु देबकी जनरल स्टोरलाई पनि दर्ता नगरी किराना पसलमा मदिरा बिक्री वितरण गरेको भन्दै एक हजार रुपैयाँ जरिवाना गरिएको छ ।
नियम विपरीत कार्य गर्ने व्यापारिक फर्मलाई पहिलोपटकका लागि एक हजार रुपैयाँ जरिवाना गराएर सम्झाई बुझाई गरेर छोडिएको उपमहानगरपालिकाका उपभोक्ता हित संरक्षण शाखा प्रमुख नारायणप्रसाद शर्माले बताए । अर्कोपटक पनि सोही गल्ती भेटिए कानून अनुसार थप कारवाही गरिने उनले बताए ।
अनुगमन टोलीले शुक्रबार विभिन्न २० वटा व्यापारिक फर्ममा अनुगमन गरेको हो । टोलीले व्युटीपार्लर, हार्डवयर, होटल, किराना पसललगायतमा अनुगमन गरेको उपमहानगरका उपभोक्ता हित संरक्षण शाखा प्रमुख शर्माले बताए ।
उपमहानगरको उपभोक्ता हित संरक्षण शाखाको नेतृत्वको बजार अनुगमन टोलीमा खाद्य प्रवविधि तथा गुण नियन्त्रण कार्यालय, बाणिज्य कार्यालय, पत्रकार, सुरक्षाकर्मीलगायतको सहभागिता थियो । उपमहानगरले उपभोक्ता अधिकार संरक्षण गर्ने उद्देश्यसहित बजार अनुगमनलाई तीब्रता दिएको छ ।














