धनगढी- सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले नेपालको क्रिकेटमा सुदूरपश्चिमको ठुलो योगदान रहेको बताउनुभएको छ ।
कैलालीको धनगढीमा सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको दोस्रो साधारण सभाको उद्घाटन समारोहमा मन्त्री देउवाले नेपाली क्रिकेटको व्यवस्थापन, समन्वय र खेलाडी उत्पादनका दृष्टिकोणले सुदूरपश्चिमले सधैँ अग्रणी भूमिका निर्वाह गरेको बताए ।
सुदूरपश्चिमको क्रिकेटलगायत समग्र खेलकुदको विकासका लागि प्रदेश सरकारले आफ्नो तर्फबाट सक्ने सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । मन्त्री देउवाले फाप्ला क्रिकेट मैदान निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदनलगायत काम अघि बढाइएको जानकारी दिए ।
“क्रिकेटसँगै सुदूरपश्चिमको खेलकुदमा लगानी बढाउनुपर्ने आवश्यकता छ”, उनले भने। प्रदेशको खेलकुदको विकासका लागि प्रदेश खेलकुद परिषद्ले परिणाममुखी काम देखाउन बाँकी रहेको मन्त्री देउवाको भनाइ थियो ।













