धनगढी- कैलालीमा एक वडा सदस्यको मृत्यु भएको छ। आइतबार कैलारी गाउँपालिका–८ दुधिया गाउँ निवासी ४२ वर्षीय वडा सदस्य माधुराम चौधरीको मृत्यु भएको हो। कैलाली गाउँपालिकाका अध्यक्ष रामसमझ चौधरीका अनुसार हिजो कैलारीबाट आएका माधुरामको धनगढीमा मृत्यु भएको हो।
उनको मृत्युमा आइतबार कैलारी गाउँपालिकाको कार्यालय तथा कैलारी गाउँपालिका अर्न्तगतका सम्पूर्ण कार्यालयहरु एवम् सम्पूर्ण शिक्षण संस्थाहरुमा बिदा दिइएको छ।
यता कैलाली प्रहरीले भने वडा सदस्यको मृत्यु रहस्यमय तरिकाले भएको भन्दै अनुसन्धान थालेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रवक्ता तथा इन्सपेक्टर सन्तोष बस्यालले घटनाको अनुसन्धान थालिएको जानकारी दिए।
प्रहरी स्रोतका अनुसार हिजो कैलारीबाट धनगढी आएका माधुराम धनगढीको शिवपुरी आसपासमा रहेको आफ्नी साली नाता पर्ने महिलाको कोठामा बसेका थिए।
प्रेसरको बिरामी समेत रहेका माधुराम अचानक लडेपछि राति नै अस्पताल लगिएकोमा बिहान मृत्यु भएको हो। धनगढीको मायामेट्रो अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ।
यस्तै मृतक माधुरामको शव पोस्टमार्टमका लागि सेती अस्पतालमा राखिएको छ भने उनकी सालीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।














